काठमाडाैं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन सकिने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटक पुनर्सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको जानकारी दिए ।
‘उक्त कम्पनीले सरकारलाई सामग्री नियमन, पोइन्ट अफ कन्ट्याक स्थापना, डेडिकेटेड रिपोर्टिङ्ग सिस्टममा पहुँच र कर प्रणालिमा आवद्ध हुन तयार रहेको भन्दै पत्राचार गरेको छ। र पुनर्सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेका छन्। टिकटकले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने होइन। सामाजिक सञ्जालको प्रयोग नियमन सम्बन्धी विधेयकको मस्यौदा तयार भई संघीय संसदमा पेश गर्न लागिएको छ,’ उनले भने ।
टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते त्यसलाई बन्द गरेको जनाएको थियो ।