काठमाडौं : माओवादीका पूर्वब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन् ।
उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि हालैमात्र सार्वजनिक भएको हो ।रुकुम पूर्वको भुमे गाउँपालिका-१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।तर पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जनयुद्धकालीन मुद्दा’मा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएका छन् ।
‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ । हामी यो घटनाको तीव्र भ्रत्सना गर्दछौं,’ डा. भट्टराईले सामाजिक सन्जालमा लेखेका छन् ।