काठमाडौं, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले महंगी, कालाबजारीको नियन्त्रण र स्थानीय तह सञ्चालनमा पारदर्शिता अपनाउन माग गर्दै काठमाडौंका ११ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ ।
राप्रपा काठमाडौं जिल्ला समितिको निर्णय बमोजिम काठमाडौं महानगरपालिका लगायत ११ वटै स्थानीय तहको नेतृत्वलाई विभिन्न माग समेटेर ज्ञापनपत्र बुझाइएको हो । राप्रपाले भ्रष्टाचार नियन्त्रण गर्न, कालाबजारी नियन्त्रण गर्न र सुशासन कायम गर्न माग गरेको त्यस्तै, स्थानीयत तहबाट तर्जुमा गरिएका र कार्यान्वयन गरिएका योजनाहरुलाई पारदर्शी रुपमा लागू गर्न ज्ञापनपत्र मार्फत माग गरेको छ ।
त्यस्तै, चाडवाड नजिकिएसँगै बढेको कालाबजारी नियन्त्रण गर्न बजार अनुगमन तीव्र पार्न र उपभोक्ताको अधिकार रक्षा गर्नपनि राप्रपाले माग गरेको छ । राप्रपा काठमाडौंले तय गरेका माग लगायत सबै स्थानीय तहले आआफ्नो नगरपालिकामा भएका समस्याहरु समाधान गर्नपनि ज्ञापनपत्र मार्फत माग गरेका छन् ।
राप्रपाले आफुहरुको माग पुरा नभए सडक आन्दोलन गर्ने समेत तयारी गरेको बताएको छ । जनताका मागलाई लिएर राप्रपाले स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाएर दवाव दिन खोजेको राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाले जानकारी दिए । ज्ञापनपत्र बुझाउन विभिन्न स्थानीय तहमा बसोबास गर्ने केन्द्रीय पदाधिकारी, सदस्य लगायत विभिन्न तहका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले आफुहरुले राखेको माग पुरा नभए आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।