काठमाडौं, १६ असोज । कोशी प्रदेशको अस्थीरता अन्त्य गर्न निर्णायक भूमिकामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशमा राप्रपाले खेल्नुपर्ने भूमिकालाई लिएर सार्वजनिक सुझाव मागेका छन् ।
सोमबार पार्टीको कार्यसम्पादन समितिले कोशीको विषयमा निर्णय गर्ने अधिकार लिङ्देनलाई दिएसँगै लिङ्देनले मंगलबार सामाजिक सञ्जाल फेसबूक र यसअघि ट्विटर भनिने एक्समार्फत सुझाव मागेका हुन् । लिङ्देनले प्रश्न सोध्दै लेखेका छन्, ‘कोशी प्रदेशमा राप्रपाले के गर्दा राम्रो होला ?’
लिङ्देनको पोस्टमा प्रतिकृया दिने अधिकांशले राप्रपा प्रदेश सरकारमा जान नहुने बताएका छन् । राप्रपा संघीयता खारेजीको पक्षधर पार्टी भएको भन्दै सामाजिक सञ्जालमा लिङ्देनलाई पछ्याउनेहरुले सरकारमा नजान सुझाव दिएका छन् । तथापी, कतिपयले प्रदेश सरकारमा रहेको अस्थिरता हटाएर स्थायी सरकार बनाउनका लागि राप्रपाले गठबन्धनलाई समर्थन गर्नुपर्ने रायपनि राखेका छन् ।
राप्रपाले हालसम्म प्रदेश सरकारमा एमालेलाई साथ दिएको छ । तर, राप्रपाको साथ भएपनि एमालेले विश्वासको मत पाउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा गठबन्धनलाई सघाएर कोशीमा स्थायी सरकार दिन काँग्रेस नेतृत्वको गठबन्धनले राप्रपालाई प्रस्ताव राखिरहेको छ । यद्यपी राप्रपाले हालसम्म काँग्रेस गठबन्धनलाई सघाउने कुनै छाँटकाट देखाएको छैन ।
कतिपयले भने कोशी प्रदेशमा अस्थीरता कायम रहने भन्दै मध्यावधि चुनावमा जानुको विकल्प नभएको बताइरहेको छ । कोशी प्रदेशमा राप्रपाको ६ सिट रहेको छ । यदि राप्रपाले काँग्रेस गठबन्धनलाई साथ दिएमात्र कोशी प्रदेशसभाले सरकार बनाउन सक्छ । नत्र कोशी प्रदेश सभा भंग भएर मध्ययावधि चुनावमा जाने सम्भावना रहेको छ ।