काठमाडौं, २ असोज । काठमाडौंको तीनकुने गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा भदौ २९ गते मध्यरातमा ४ जनाको हत्या भयो । हत्या भएपछि मृत्यु हुनेमध्येका एकको दाइ पर्ने र त्यहीँ बस्ने दीपेन्द्र राई मदिराको सुरमा घटनास्थल पुग्छन् । उनी त्यहाँबाट आँत्तिदै प्रहरीचौकीमा पुगेर हत्याका बारेमा जानकारी दिन्छन् । उनै राईले प्रहरी प्रभागमा पुगेर घटनाका बारेमा भनेपछि गैह्रीगाउँको कहालीलाग्दो हत्या प्रकरणको खबर बिजुलीको गतिमा देशभर फैलिन्छ र प्रहरीले अनुसन्धान समिति बनाएर तत्काल छानवीन सुरु गर्छ । पहिले त प्रहरीले हत्या भएको खबर गर्ने दीपेन्द्र नै दोषी भएको आशंकामा उनलाई नियन्त्रणमा लिन्छ । तर, पछि राई निर्दोष सावित हुन्छन् र भण्डारी पक्राउ पर्छन् । भण्डारी बोल्न समेत नजान्ने भएको पाइएको छ । प्रहरीले भण्डारीका बारेमा उल्लेख गरेका पक्षहरु यहाँ उल्लेख गरिएको छ ।
घटनामा संलग्न ब्यक्तिको विवरण
जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ स्थायी वतन भई काठमाण्डौ काँडाघारी बिरेन्द्रचोक बस्ने अनिरुद्र भण्डारीको छोरा बर्ष २३ को संजय भण्डारी ।
बरामद दशीको विवरण
१.घटनाको दिन निज संजय भण्डारीले बोकेको झोला र सोही झोलामा रहेको खुकुरी थान १ ।
२. पक्राउ पर्दा निजले घटना घटाउदा लगाएको कपडाहरुनै लगाएको अवस्थामा पक्राउ परेको र निजको टिसर्टमा रगतको जस्तो दागहरु देखिएको ।
घटनाको कारण
प्रतिवादी संजय भण्डारीका अनुसार केही समय अगाडी मृतक विशाल राईले चलाएको मोटरसाईकलले ठक्कर दिँदा विवाद हुन गई निज मृतक विशाल राईले प्रतिवादी संजय भण्डारीलाई कुटपिट गरेकोमा सोही रिसईबी र प्रतिषोधका कारण प्रतिवादी संजय भण्डारीले बाटो आवतजावत गर्ने क्रममा निज मृतक विशाल राईलाई उक्त घटना भएको सःमिलको घर टहरोमा पहिला ३-४ पटक देखेको ।घटनाको विवरण
मिति २०८०-०५-२९ गते प्रतिवादी संजय भण्डारी मृतक विशाल राईलाई आज भेट्छु निहु खोज्यो भने छप्काई दिन्छु भनि आफु बस्ने गरेको दिदीभिनाजुको घरको डेरा कोठाबाट उक्त खुकुरी आफुले बोक्ने झोलामा हाली काँडाघारीबाट निस्कीई बेलुकाको समयमा उक्त सःमिलको पछाडी पट्टीको बन्द गेटबाट माथी चढी मृतक विशाल राई बस्ने कोठामा गई हेर्दा निजलाई तत्काल नदेखेपछि सोही कोठाको सोफामा बसीरहेको अवस्थामा केही क्षण पछि मृतक विशाल राई आई किन यहाँ बसेको भनि कुटपिट गरेपछि निज प्रतिवादी संजय भण्डारीले रिस थाम्न नसकी खुकुरीले निज विशाल राईको टाउकोमा पटक पटक प्रहार गरी राईको हत्या गरेको ।
निज विशाल राईको हत्या गर्ने क्रममा बुढी आमा सुभद्रा भुजेलले घटना देखि कराएको जस्तो लागि निज प्रतिवादीले आफुलाई चिन्ही यो घटना बाहिर आउँछ भन्ने लागेकोले निज बुढी आमालाई सोही खुकुरीले टाउकोमा प्रहार गरेको । सोही समयमा पुर्ण बहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखि निजलाई पनि टाउकोमा नै पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको । त्यसपछि निज मृतक पुर्ण बहादुर भुजेलको श्रीमती अम्विका भुजेल पनि सोही स्थानमा आएकोले निजले समेत सो घट्ना देखेकोले बाहिर नल्याओस भनि निज अम्विका भुजेलको पनि टाउकोमा नै पटक पटक प्रहार गरी हत्या गरेको ।
त्यस पछि मृतक कुमार भुजेलको लाशलाई तानि घिसार्दै सोही टहराको कुनामा रहेको ट्वाईलेटको ढोका छेउमा लगी फालेको, निजको श्रीमती अम्बिका भुजेलको लाशलाई पानीको कल छेउमा लगी फालेको तथा सुभद्रा भुजेलको लाशलाई सोही काठको गोदाम छेउमा घिसार्दै लगी फालेको ।
तत्कालै विशाल राईलाई रिसईबीको कारण प्रतिषोध साँधि हत्या गरेको भएता पनि अन्य ३ जनालाई सो घटना देखि बाहिर आउँछ भनि हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको ।
प्रतिवादीले चारै जनाको हत्या गरे पश्चात बाहिर मेनगेटमा ड्याङ ड्याङ आवाज आएको तथा बत्तिको लाईट समेत देखिएको कारण कोही आएकी भनि आफु प्रवेश गरेकै पछाडी पट्टीको गेटबाट हामफाली कोटेश्वर चोक हुँदै काँडाघारी बिरेन्द्र चोक स्थित पुगी निजको दिदिभिनाजुको कोठामा गई सुतेको खुल्न आएको ।
शनिबार बिहान उठी खाना खाएपछि अघिल्लो दिनजस्तै पहिला पढेको नक्सालस्थित बिधालयमा नै साथीहरु सँग भेट्न गई घर आई खाना खाई सुतेको खुल्न आएको ।
निज प्रतिवादी जन्मजात बोल्न नसक्ने, सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म अध्ययन गरी १२ कक्षासम्म काठमाण्डौमा अध्ययन गरेको खुल्न आएको । सो घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा बिज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफुले सम्पुर्ण घट्ना एक्लै घटाएको स्विकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको ।
घटनामा दोलखा जिल्ला कालिन्चोक गाउँपालिका ८ घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा. ३२ तिनकुने स्थित दिव्य सः मिलमा कामदारको रुपमा बस्दै आएका अन्दाजी ५६ बर्षका कुमार भुजेल भन्ने पुर्ण बहादुर भुजेल भुजेलकी श्रीमती वर्ष ५० की अम्विका भुजेल, भुजेलकी ७६ वर्षीया आमा सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गा.पा.२ घर भई हाल सोही सः मिलमा बस्ने १९ वर्षीय नबिन भन्ने विशाल राई राईको निर्मम हत्या भएको छ ।