रुपन्देही, २६ भदौ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मातृकाप्रसाद यादव लगायत नेताहरुको समुह नै राप्रपामा प्रवेश गरेको छ ।
सोमवार भैरहवामा आयोजित नविन राप्रपा अवधारणा सम्बन्धी अन्तरक्रिया एवं पार्टी प्रवेश कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देनले यादव लगायत दर्जनौं नेताहरुलाई राप्रपामा स्वागत गरेका हुन् । देशको धर्म संस्कृति, अखण्डता र इतिहासको रक्षा गर्ने पार्टी राप्रपामात्र भएकाले राप्रपामा एकाकार भएको जसपाका केन्द्रिय सदस्य यादवले बताए ।
सो कार्यक्रममा अध्यक्ष राजेन्द्र लिंग्देन, पार्टी वरिष्ठ नेता एवं सांसद दीपक बोहोरा, राप्रपा लुम्बिनीका अध्यक्ष प्रदीप उदय लगायत नेताहरु सहभागी भएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष लिंग्देनले हिन्दुत्वको रक्षाका लागि सबै मानिस धर्म निरपेक्षताका विरुद्ध उभिनुपर्ने बताए । गौहत्याका दोषीलाई सरकारले यथाशीघ्र कार्वाही नगरे राप्रपाले त्यसको विरोधमा देशव्यापी प्रदर्शन गर्ने उनले बताए । राप्रपाले धरान लगायत क्षेत्रमा भएको गौहत्याका विरुद्ध बुधवार राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।