समिर नेपाल
कलिलो घामसँगै मुस्कुराउँदै ऊ अगाडि बढ्दै थिई । सुकिलो पहिरन, चिटिक्क परेको शृङ्गार– ऊ साह्रै सुन्दर देखिएकी थिई । “प्रेमा, कता टाढै ?” साथीको स्वरले ऊ अनायासै बाटोमा रोकिई । “हैन काममा जान लागेकी”– प्रेमाले जवाफ दिई ।
“काम ? प्रेमाले पनि काममा जानु पर्छ र ?” साथीले पुनः प्रश्न ग¥यो । “मलाई नपुग्दो त केही छैन । घरपरिवार, धनसम्पत्ति सबैथोक मेरो लागि पर्याप्त छ तर पनि मलाई श्रम गर्न मन लाग्यो, आफैंले कमाइ गर्न मन लाग्यो, यत्तिको लागि म होटलमा काम गर्न थालेकी छु । सामान्यतया मैले यस्तो काम गर्नुपर्ने चैं होइन ।” प्रेमाले भनी ।
प्रेमा कलिलै उमेरमा आफ्नो श्रम बेच्न थालिसकेकी थिई । बिस्तारै ऊ एउटा होटलमा काम गर्ने युवतीको रूपमा परिचित हुँदै गई । मुसुक्क हाँस्दै ग्राहकलाई स्वागत गर्नु अनि उनीहरूको अर्डर अनुसारको सामग्री तयार पार्न लगाउनु, मुस्कुराउँदै उनीहरूको टेबलमा पु¥याउनु, सन्तुष्टिका साथ ग्राहकलाई विदाइ गर्नु । यो प्रेमाको नियमित कार्य थियो । हृष्टपुष्ट शरीर अनि चटक्क परेको राम्रो अनुहार लिएर नियमित
रूपमा त्यस होटलमा आउने एउटा कलिलो युवकको नाम हो प्रकाश ।साथै त्यस क्षेत्रको एउटा सफल खेलाडीको नाम पनि हो प्रकाश ।
“एउटा बट्टाई, एउटा सलाद अनि एउटा वियर, अहिले यत्ति ।”
आफ्नो इच्छा अनुसारको खानाको माग सँगसँगै प्रकाशले प्रश्न ग¥यो, “अनि तपाईंको घर चैँ कता प¥यो ?” प्रकाशको प्रश्नको छोटो प्रतिउत्तर आयो “बुटवल ।” प्रकाश अरू केही सोध्ने तयारीमा थियो तर प्रेमा भान्छातिर अगाडि बढिसकेकी थिई । प्रकाशको माग अनुसारको खाना तयारीका लागि । पछिल्ला दिनमा नियमित रूपमा होटलमा आउनु, खानु, प्रेमाको मुस्कानमा एकैछिन हराउनु अनि छुट्टिनु प्रकाशको दिनचर्या बनिरहेको थियो । ग्राहक बढी भएको दिन केही ढिलो हुने नत्र अलिक छिट्टै घर जान पाउने प्रेमाको दैनिक तालिका होटल मालिकको अनुकम्पामा भर परिरहेको हुन्थ्यो । के गर्ने, जागिरे जीवन कैले कहाँ, कैले कहाँ खटाएको ठाउँमा
जानैपर्ने, आफ्नो घरपरिवार, बाबुआमा सबै छोडेर हिँड्नुपर्ने, यो जागिरेको बाध्यता हो । कुनै प्रसङ्ग बिना नै प्रकाशले प्रेमाको अगाडि मुख फो¥यो । “तपाईंको विवाह भइसक्यो ?” प्रेमाको मुखबाट निस्किएको यो प्रश्नले प्रकाश झसङ्ग झस्कियो । ऊ धेरै बोल्न चाहन्थ्यो तर अत्तालियो ।
उसले मात्र दुई अक्षर उच्चारण गर्न सक्यो ‘छैन ।’ अबका दिनबाट होटलबाट घर जाँदै गरेकी प्रेमालाई घरसम्म पु¥याउन जाने क्रममा प्रकाश र प्रेमा बीच यस्तै यस्तै वार्तालाप हुनथाले । दिन धेरै बिते तर पनि आजसम्म कहिल्यै प्रेमाले प्रकाशलाई सोधिन कि–
घर कहाँ हो ? परिवार कति छन् ? तँ यहाँ के गरिन्छ ? धेरै दिनसम्म प्रकाश र प्रेमाको बीचमा यस्ता प्रक्रिया चलिरहे । प्रकाश
रातको निस्तब्धतामा प्रेमालाई घरसम्म पु¥याउँथ्यो र फर्कन्थ्यो । प्रकाशको दिन दिनको यो क्रियाकलापले प्रेमालाई बिस्तारै बिस्तारै प्रकाशतिर आकर्षित बनायो तर पनि कहिल्यै प्रेमाले यो कुरा प्रकाशसँग व्यक्त गरिन ।आजकल धेरै दिन भयो प्रकाश होटलमा आइरहेको थिएन । किन, के भयो ? किन आइरहेको छैन ? कतै अर्कै होटलतिर पो लाग्यो कि ? शायद ऊ मसँग निकै कुरा गर्न चाहन्थ्यो, मैले त्यो अवसर दिन सकिनँ कि ? यस्तै यस्तै कुरा प्रेमाका मनमा दौडिनथाले, तिनाउमा सलबलाएका माछाका भुरा जसरी ।
दिनपछि महिना, महिनापछि वर्ष समेत बितिसकेछ । यो अवधिमा प्रेमाले प्रकाशलाई कहिल्यै कतै देख्न सकिन । आजकल धेरै दिन
भइसकेको छ, प्रेमा पनि काममा आइरहेकी छैन । बेलुका साँझ साँझ पर्न लागेको थियो । होटलमा ठूलोठूलो स्वरमा क्यासेट बजिरहेको थियो । “घुम्न जाऊँ घुम्न जाऊँ घुम्न धुलिखेल, तिम्रो लागि सनम यो छाती सेन्टर जेल”, होटलको बाहिर साह्रै भिड लागेको
थियो । बीचमा कोही नाचिरहेको थियो । रातपर्दै गयो अँध्यारोमा नाचिरहेको आकृतिलाई ठम्याउन गाह्रो परिरहेको थियो । बिस्तारै क्यासेटमा गीत सकिए छ, नाच्ने व्यक्ति कता गयो कता, अलप नै पो भएछ । तर एकैछिनमा त्यही वरिपरि हल्ला चल्न थाल्यो “केटी त बहुलाइछ यार । कसैले बिहे गर्छु भनेर धोका दिएजस्तो छ । सोम के गर्ने ? केटीको जिन्दगी यस्तै हो क्या, पहिले प्रेम गर्छन् पछि बिछोड हुन्छ, अनि प्रेममा पागल बनेकाहरू बहुलाउँछन् ।”
केही दिनदेखि बुटवल बजार शान्त छ । छ, सात दिन भयो कतै प्रेमा र प्रकाश देखापरेका छैनन् । सायद जोडी मिलेर कतै लागेजस्तो छ ।
बजारमा गाइँगाइँ गुइँगुइँ यस्तै कुरा सुनिन थालेका छन् ।एक्कासि आज सधँैझैँ निकै सिँगारिएर प्रेमा होटलतिर लाग्दै गरेको देखेपछि मानिस एक पटक झसक्क झस्किए, यो दृश्यले सबैलाई एक्कासि सिस्नुले पोलेझैँ भयो ।
भलाद्मी पाराले अगाडि बढेकी प्रेमा होटल अगाडि पुगेपछि टक्क रोकिई । उसले होटलको भित्रतिर नियालेर हेरी, फेरि तुरुन्तै अगाडि
बाटोमा आई । कसैले नसोचेको अभिनयमा ऊ व्यस्त भई । घरी नाच्ने घरी कम्फुकराँते खेलमा प्रशिक्षण दिने, यस्तैयस्तै अभिनय गर्दै रहेकी ऊ एकछिन रोकिई अनि टकटक अगाडि बढी । एक्कासि आज बिहानैदेखि अनायास बुटवल बजारमा चहलपहल छ । मान्छेको निकै आवत–जावत छ । ट्राफिक चोकतिर जाने र घाँटी तन्काउनेको निकै भिड छ । लाग्छ, आज यहाँ कुनै गतिलै कार्यक्रम छ ।
मैले होटलवाला साहुजीसँग सोधें आज कुनै कार्यक्रम छ कि, कसो भाइ ? “आज हैन सर, भोलि यहाँ औद्योगिक प्रदर्शनी छ, त्यसैका लागि
होला यो चहलपहल ।” होटल साहुजीको जवाफ आयो ।
भोलिपल्ट बिहानै म होटलको बार्दलीमा निस्किएँ । सडक किनारमा बसेर प्रेमा कपाल कोरिरहेकी थिई । ऊ घरी मेकअप गर्थी, घरी सबै पुछि दिन्थी अनि मुख धोएको अभिनय गर्थी । फेरि मेकअप गर्थी । केही टाढा बसेर मानिस उसलाई हेरिरहेका थिए । ऊ घरी सडकमा लडीबुडी गर्थी । घरी उठेर आफैं कम्फू कराते खेल्थी । ऊ, वरिपरि रहेका रमितेलाई मनोरञ्जनको राम्रो साधन बनिरहेकी थिई ।
होटलको बार्दलीमा अनायास प्रकाश देखिन्छ । उसले पनि प्रेमालाई देख्छ । ऊ झसङ्ग हुन्छ । विवशता ऊ एकनासले प्रेमालाई
हेरिरहन्छ । सँगै रहेकी छोरीले उसलाई कोट्याउँदै सोध्छे– “बाबा के हेरेको ।” प्रकाश बोल्दैन । फेरि छोरी बाबाको हात तान्दै, सडकमा रहेकी केटीलाई देखाउँदै सोध्छे– “बाबा, त्यो को हो ? त्यसले के गरेकी ? प्रकाश निरुत्तर हुन्छ । ऊ छोरीको प्रश्नको जवाफ दिनसक्दैन । प्रेमा आफ्नै तालले अभिनयमा व्यस्त छे । प्रकाश नाजवाफ हुँदै एकटकले प्रेमालाई हेरिरहन्छ, नियालिरहन्छ ।