काठमाण्डौ । ज्योतिषमा मांगलिक दोषका बारेमा उल्लेख छ । समाजमा पनि मानिसले मांगलिक दोषका बारेमा चर्चा गर्छन । मांगलिक दोष हुँदा मूलतः श्रीमान श्रीमतिको सम्बन्धमा खराबी आउने मान्यता स्थापित छ । विवाह गर्नुपूर्व पनि मांगलिक कुण्डली छ या छैन भनेर धेरै महत्व दिएर कुण्डली परीक्षण गराउने प्रचलन छ ।
कुनैपनि व्यक्तिको कुण्डलीमा मंगल पहिलो, चौथो, सातौं, आठौं र बाह्रौ घरमा मंगल उपस्थित भएमा त्यसलाई मंगलदोष भएको कुण्डली अथवा मांगलिक कुण्डली भनेर बुझिन्छ । मांगलिक कुण्डली भएमा दाम्पत्य जीवनमा असर गर्ने जीवनसाथीको स्वास्थ्यमा गम्भीर असर हुने, वैवाहिक जीवन टुट्टेसम्मको फल हुने ज्योतिषग्रन्थहरुमा उल्लेख छ ।
मांगलिक दोष न्यूनिकरण गर्न के गर्ने त ?
मांगलिक दोष भएका पुरुष वा कन्याले मांगलिक नै पति वा पत्नि खोज्नुपर्ने सामान्य ज्योतिषीय परम्परा छ । यद्यपी हामीले मांगलिक भन्ने गरेका सबै कुण्डली मांगलिक हुँदैनन । कस्तो अवस्थामा कुण्डलीलाई मांगलिक मानिँदैन वा कम प्रभावी मानिन्छ, बुझौं ।
- कुनैपनि कुण्डलीमा मंगल प्रथम घरमा स्वराशिस्थ भएर मेषमा बसेको भएमा वा चौथो घरमा पनि आफ्नै राशी वृश्चिकमा बसेमा सातौं घरमा आफ्नो उच्चराशी मकरमा बसेमा मांगलिक दोष लाग्दैन ।
- मंगल अष्टम स्थानमा रहँदा आफ्नो निचराशी कर्कटमा छ भने वा द्वादश स्थानमा धनु राशीमा छ भने पनि मांगलिक दोष निश्प्रभावी हुन्छ ।
- कन्याको हकमा यदि मंगल देवगुरु बृहस्पतिसँग वा ग्रहमण्डलका राजा सूर्यसँग भएपनि मंगल दोषको प्रभाव कमजोर हुने ज्योतिषीय मापदण्ड रहेको छ ।