काठमाडौं, ३० साउन । सानो उमेरमै कुशल खेलाडी र स्टार बनेका क्रिकेटर सन्दीप लामिछानेको रंगीन जीवनमा रंगहरु बेरंग भएको लगभग वर्षदिन भयो । क्रिकेटजगतमा राष्ट्रिय र अन्तरारष्ट्रिय रुपमा समेत चर्चा पाइसकेका लामिछानेले हाल क्रिकेट त खेलिरहेका छन् तर मनभरी तनाव र चिन्ता लिएर । तनाव र चिन्ताका बाबजुदपनि लामिछानेको खेलले नेपाली क्रिकेटको अन्तराष्ट्रिय छवीलाई जोगाएकोमात्र छैन बढाएको पनि छ ।
नेपालका लागि ठूलो खेल मानिएको एशियाकपमा नेपालले क्रिकेटका विश्वमहारथीहरु भारत, पाकिस्तान, श्रीलंका लगायत देशसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । तर, सन्दीपले एशीया कम खेल्छन् वा खेल्दैनन् भन्ने आमचासो र चिन्ता बढेको छ । यता सन्दीप भने मुद्दाको किनारा नलाग्दासम्म मानसिक रुपमा स्वतन्त्र भएर खेल्न सकिरहेका छैनन् । उनका कतिपय सामाजिक संजालका अभिव्यक्तिले उनी निराश र विक्षिप्त भएको हो की भन्ने आशंका पनि पैदा गर्छ ।
तत्कालिन अवस्थामा सन्दीपले थुनामुक्त भएपछि राष्ट्रिय टिममा कमब्याक गर्नुका साथै नेपालका लागि निरन्तर खेलिरहेका छन् । उनको हरेक खेलमा उत्कृष्ट प्रदर्शन पनि भइरहेको छ । नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा पु¥याउन सन्दीपको ठूलो योगदान रहेको छ । त्यस्तै, नेपालको एक दिवसीय मान्यता कायम राख्न र एसीसी प्रिमियर लिग जित्दै एसिया कपमा भाग लिनपनि सन्दीपकै मुख्य भूमिका रहेको छ ।
काठमाडौं जिल्ला अदालतमा चलिरहेको सन्दीप विरुद्धको मुद्दाको हालसम्म फैसला नहुँदा उक्त बलात्कार मुद्दाका दुवै पक्षले न्यायन पाउन सकेका छैन । जिल्ला अदालतले सन्दीप विरुद्धको मुद्दामा साउन ३० शुक्रवार अर्को पेशी चढाएको छ । यसपाली सन्दीपको मुद्दामा अन्तिम फैसला भए सफाई पाउने वा पुनरावेदन जाने भन्ने अवस्थामा सन्दीप हुनेछन् । तर, यसपाली पनि सुनवाई नभए सन्दीपको मुद्दा थप लम्बिनसक्छ ।
जिल्ला अदालत काठमाडौंले गत असोजमा उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपनि उच्च अदालत पाटनले सो आदेश उल्टाउँदै सन्दीपलाई रिहा गरेको थियो । पछि सर्वोच्चले उच्चको आदेश लाई सदर गर्दै सन्दीपलाई विदेश गएर क्रिकेट खेल्न समेत अनुमति दिँदा सन्दीपले खेल्न पाएका छन् ।
सन्दीपले क्यानडामा आयोजित ग्लोबल टी–२० मा सर्रे जगुअर्सबाट खेलेर उत्कृष्ठ प्रदर्शन गरेका छन् । सन्दीप लामिछानेका कारण नेपालले क्रिकेटको सुधारमा र पहिचानमा ठूलो फड्को मारेको छ । तर, उनी पछिल्लो समयमा बलात्कार मुद्दामा परेपछि उनका समर्थकहरु पनि दुःखी भएका छन् । लामिछानेको दोष भए उनलाई कार्वाही गर्न र नभए सफाई दिने काम छिटो होस् भन्ने सन्दीपका फ्यानहरुको चाहना छ ।
तर, नेपालको कानुन दैवले जानुन भनेकोजस्तो एउटा सार्वजनिक चासोको मुद्दा वर्षदिनसम्म पनि फैसला हुनसक्दैन । ढिलो न्याय अन्याय बराबर नै हुने कानुनी मान्यता छ । कुनैपनि मुद्दामा मुछिएका दुवैपक्ष छिटो फैसला चाहान्छन् । दोषी भेटिए त धेरै प्रश्न नहोला तर, निर्दोष पाइएको खण्डमा यति लामो मानसिक यातना र पीडाको क्षतिपूर्ति सरकारले दिन्छ ? यो प्रश्नपनि महत्वपूर्ण रहेको छ ।
सन्दीपको मुद्दामा पनि फैसला ढिला हुँदा पीडित भनिएकी किशोरी र लामिछाने दुवैलाई सास्ती भएको छ । मुद्दाको फैसला ढिला हुँदा पीडित किशोरीलाई अदालतले एकलाख क्षतिपूर्ती दिनुपर्ने अवस्था आएको छ । शुक्रवार सन्दीपको अन्तिम फैसला हुनसकेमा त्यहि फैसलाले सन्दीपको भविष्य र भाग्य निर्धारण गर्ने देखिन्छ ।