काठमाडौं, २९ साउन । नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा अध्ययन गरेको आरोपमा पक्राउ परेका सांसद सुनील शर्माले सोमबार संघीय संसदमा भनाइ राखेका छन् ।
बैठक सुरु भएलगत्तै समय मागेर बोलेका सांसद शर्माले आफुलाई सिआईबीले बिना पक्राउ पुर्जी नियन्त्रण गरेको र दुव्र्यवहार गरेको पनि आरोप लगाएका छन् । सिआईबी नियन्त्रणमा लिएर आफुलाई लाजिम्पाटस्थित एक खाली भवनमा राखेको र पछिमात्र प्रहरी तालिम केन्द्रस्थित सिआईबीको हिरासतमा लगेको बताएका छन् ।
सांसद शर्माले आफुलाई सिआईबीले घरबाट खाना ल्याउनसम्म स्वीकृति नदिएको बताए । आफु अस्वस्थ रहेको र घरको खानेकुरामात्र खाने गरेको भन्दापनि प्रहरीले स्वीकृति नदिएपछि आफुले निर्वस्त्र भएर आमरण अनशन गर्ने चेतावनी दिएपछि मात्र प्रहरी लचक भएको शर्माको भनाइ छ ।
शर्माले संसदको बैठकमा बोल्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग दोहोर्याएका छन् । सांसद शर्माले गृहमन्त्रीले राजीनामा नदिए आफुले आमरण अनशनको घोषणा गर्ने बताए । यद्यपी संसदको सोमबारको बैठकपनि बस्न सकेन । सभामुखले संसदको बैठक एकसातापछि भदौ ३ गतेलाई तोक्दै स्थगन गरेका छन् । सुन तस्करी प्रकरण छानवीन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।