काठमाडौं- नेपालमा जन्मिएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक काठमाडाैं आइपुगेका छन् । शुक्रबार बिहान काठमाडौं आइपुगेका राजा जिग्मेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणाले स्वागत गरेकी छिन् ।
भारत भ्रमण सकेर आएका उनी स्वयम्भू र बौद्धनाथको दर्शन गरेर आजै स्वदेश फर्कने कार्यक्रम छ । राजा जिग्मेको यो कुनै औपचारिक नेपाल भ्रमण भने होइन । उनी भारत भ्रमणका क्रममा ट्रान्जिटका लागि करिब मात्र एक–दुई घण्टा नेपालमा रहनेछन् । भुटानी जिग्मे राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
वाङचुकले बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भुटानी राजा दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारीलगायत सदस्य रहेका छन् ।
राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो । उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो । साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो ।
जानकारहरुका अनुसार तत्कालिन रानी छिरङले हलेसी महादेवको मन्दिरमा पूजा गरेको र पुत्रका रुपमा जिग्मेको जन्म भएको पनि बताइन्छ । त्यतिबेला राजा वीरेन्द्रले भुटानी राजपरिवारप्रति सहयोग तथा सद्भाव राखेका थिए । दुबै देशका राजपरिवारबीच घनिष्ठ सम्बन्ध थियो ।