काठमाडौं- अमेरिकाको भर्जिनियामा बस्दै आएकी ममता काफ्लेको हत्या आरोपमा श्रीमान् नरेश भट्टविरुद्ध अभियोग दर्ता गरिने भएको छ ।
गत जुलाईदेखि बेपत्ता काफ्लेको विषयमा जानकारी दिन मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार साँझ पत्रकार सम्मेलन गरेका थिए । नरेशले आफ्नी श्रीमती ममताको गएको जुलाई अन्तिममा हत्या गरेर शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
मानसास पार्क प्रहरीले ३७ वर्षीय नरेशले ममताको हत्या ३० जुलाईतिर गरेको बताएको छ । मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोका अनुसार ममताको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भयो । प्रहरी प्रमुखले भने, “सुरुआतदेखि नै हामीलाई उनको हत्या भएको शंका लागेको थियो । यो कुरा डीएनए जाँच र अरु प्रमाणबाट पुष्टि भएको छ ।”
ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अझै भेटिएको छैन । प्रहरीले शवको खोजी निरन्तर जारी राख्ने बताएको छ ।
ममता गत साउन १५ गतेदेखि सम्पर्कविहीन थिइन् । ७ भदौमा नरेशलाई प्रहरीले पक्राउ गरेको थियो । ममता प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् ।