काठमाडौं, २९ कार्तिक । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले श्यामकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
बुधवार बनस्थलीमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको हो । लामो समयदेखि सामाजिक कार्यमा क्रियाशिल श्रेष्ठको १६ नं वडामा राम्रो जनसम्पर्क रहेको छ । राप्रपाको राम्रो संगठन भएको काठमाडौं १६ मा उम्मेदवारी घोषणा सँगै निर्वाचन केन्द्रित बुध कमिटिहरु पनि निर्माण गरिएको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा वडाध्यक्षका उम्मेदवार श्रेष्ठले आफु सामाजिक कार्यमा नै सक्रिय भएको हुँदा जनताले दैनिक रुपमा भोग्दै आएका समस्याका बारेमा आफुलाई जानकारी भएको बताए । जनताका ससाना समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।
श्रेष्ठले आफु पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको आदर्शबाट प्रेरित भएको बताउँदै भ्रष्टाचार गर्दिन भनेर जुनसुकै मन्दिरमा छिर्न तयार रहेको बताए । ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह भन्ने व्यक्ति मेरा पार्टीको अध्यक्ष हुनुहुन्छ, आदर्श हुनुहुन्छ । म त्यति प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’
कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्ट, असक्षम र बेइमान दलहरु प्रति जवाफ दिने अवसर आएको बताए । काठमाडौं १६ नं का जनताले पुराना दल र नेतृत्वले गरेको बेइमानीको जवाफ उनिहरुलाई हराएर दिनुपर्ने लिङ्देनको भनाइ छ । काठमाडौंका जनताले राप्रपालाई हेर्न चाहेको भन्दै अध्यक्ष लिङ्देनले सबै जनतासामु पुगेर राप्रपाका एजेण्डा, लक्ष्य र इमानका बारेमा प्रचार गर्न कार्यकर्ता पंक्तिलाई अपिल गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपा सहमहामन्त्री प्रकाश रिमालले काँग्रेस कम्युनिष्टका विरुद्धमा जनमत तयार हुनुपर्ने धारणा राखे । काँग्रेस, एमालेकै संस्थापक र शीर्ष नेताले उक्त पार्टी छाडेको प्रसंग स्मरण गर्दै रिमालले प्रश्न गरे ‘किसुनजीले काँग्रेस छाडे, गणेशमानले काँग्रेस छाडे एउटा मतदाताले काँग्रेस छाड्न नहुने ? राधाकृष्ण मैनाली, सीपी मैनाली हुँदै माधव नेपालसम्मले एमाले छाड्न हुने एउटा मतदाताले नहुने ?’
अर्का सहमहामन्त्री अमृत पुडासैनीले काठमाडौंमा भौतिक संरचनाजन्य समस्या, खोला, नाला र सडकका समस्या पनि कम हुन नसकेको भन्दै राप्रपाले त्यसमा आफ्नो ‘भिजन’ प्रयोग गर्न चाहेको बताए ।
कार्यक्रममा बागमति प्रदेशका अध्यक्ष विक्रमबहादुर थापा, बागमति प्रदेशका राप्रपा संसदीय दलका नेता एवं केन्द्रिय सदस्य उद्धव थापा, केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य आशा लामा, केन्द्रिय सदस्य एवं सूचना प्रविधि विभाग प्रमुख उद्धवराज भेटुवाल लगायतले बोलेका थिए ।