काठमाडौं, २८ कार्तिक । संवैधानिक राजसंस्था, सनातन वैदिक हिन्दुराष्ट्र र संघीयता खारेजी लगायतका माग लिएर क्रियाशिल राप्रपाले हालैको कर्णालीयात्रा सफल भएपछि सुदूरपश्चिम यात्रा पनि गर्ने भएको छ ।
कर्णाली यात्राका क्रममा जनसहभागिता उत्साहजनक भएपछि राप्रपाले मंसिरको पहिलो साता सुदूरपश्चिमको यात्रा गर्न लागेको हो । पार्टीले मंसिर ३ गते बाजुराबाट यात्रा सुरु गर्ने भएको छ । मंसिर ३ गते बाजुराको कोल्टीमा सभा हुनेछ । सो सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन लगायत नेताले सम्बोधन गर्नेछन् ।
मंसिर ४ गते अछामको मंगलसेनमा राप्रपाले सभा गर्ने तालिका बनाएको छ । मंगलसेनको सभा सकेर मंसिर ५ गते डोटी र ६ गते कंचनपुरमा आमसभा राखिने राप्रपाले जनाएको छ ।
५ दिने सुदूरपश्चिम यात्रा मंसिर ७ गते कैलालीमा आएर समापन हुनेछ । कैलालीको साडेपानीमा जनसभा राख्ने तय भएको छ । भौगोलिक रुपमा विकट र मानव विकास सूचकांकमा पछाडी रहेका दुई क्षेत्रमा पछिल्लो समय राप्रपाले आफ्ना गतिविधि बढाउन थालेको छ ।