काठमाडौं, २४ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता छानवीन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको संसदीय छानवीन उपसमितिले अनुसन्धान र छानवीन सुरु गरेको छ ।
चिनियाँ ऋणबाट बनेको विमानस्थलमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतले पनि छानवीन गरिरहेका बेला संसदको सार्वजनिक लेखा समितिले लिङ्देनको नेतृत्वमा संसदीय छानवीवन उपसमिति बनाएको हो । उपसमितिमा राप्रपा अध्यक्ष लिङ्देनसँगै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमाले नेता गोकुलप्रसाद बास्कोटा, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी छन् ।
उपसमितिले सोमबार विमानस्थलको स्थलगत अनुगमन र व्यवस्थापन एवं कर्मचारीसँग सोधपुछ गरेको छ । एकातिर उद्घाटन भएको डेढवर्ष सम्म पनि अन्तर्राष्ट्रिय उडान नहुनु र अर्कोतिर महंगो चिनिया व्याजभार बढिरहेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला सांसदहरुको टोली पोखरा पुगेको हो ।
अवलोकन र अनुसन्धान मुख्यतः विमानस्थलको निर्माण प्रकृयाका साथै हालसम्म केही सीमित चाटर्ड बाहेकका विमान सञ्चालन हुननसक्नुको कारणहरु खोजिने उपसमितिका संयोजक लिङ्देनले बताए ।
पोखरा विमानस्थल सुरुमा सम्झौता हुँदा २२ अर्ब ६१ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने भनिएपनि लागत २८ अर्ब पुगेको छ भने २८ अर्ब नै ऋणमार्फत प्राप्त गरिएको हो । नेपाल–चीन सरकारबीच ऋण सम्झौता भएको विमानस्थल चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले निर्माण गरेको हो ।