काठमाडाैं : भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयहरुलाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको छ ।
भारतीय राजदूतावास काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गतका ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको हो । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई वर्षको दुई पटक एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । त्यसै अनुरुप आइतबार विभिन्न दुर्गम जिल्लाका स्थानीयलाई एम्बुलेन्स र स्कुल बसहरु हस्तान्तरण भएको छ ।
अर्थमन्त्री पुनले भारत सरकारले विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयको लागि ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स प्राप्त भएको बताए ।