चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारको आम्दानी र खर्च अपेक्षाकृत कमजोर देखिएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च मात्र गर्न सकेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। तर, पुस मसान्तसम्म कुल खर्च ६ खर्ब ६७ अर्ब ६० करोड १९ लाख रुपैयाँ मात्र पुगेको छ। यो वार्षिक लक्ष्यको ३५.८९ प्रतिशत हो।
चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएकोमा पुस मसान्तसम्म ३९.६३ प्रतिशत अर्थात् ४ खर्ब ५२ अर्ब रुपैयाँ मात्र खर्च भएको छ।
पुँजीगत खर्चको स्थिति झन् कमजोर छ। तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ वार्षिक बजेट रहेको पुँजीगत शीर्षकमा १६.१६ प्रतिशत अर्थात् ५६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ मात्र खर्च भएको छ।
वित्तीय व्यवस्थातर्फको खर्च भने ४३.२ प्रतिशत छ। तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजित बजेटमध्ये एक खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ।
राजस्व संकलनतर्फ, सरकारको वार्षिक लक्ष्य १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ हो। पुस मसान्तसम्म पाँच खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ३९.०६ प्रतिशत हो।
कर राजस्वतर्फ ३८.११ प्रतिशत अर्थात् ४ खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ ५१.९७ प्रतिशत अर्थात् ७० अर्ब २० करोड ८२ लाख रुपैयाँ संकलन भएको छ।
वैदेशिक अनुदानतर्फ, चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ लक्ष्य राखिएकोमा हालसम्म सात अर्ब ३७ करोड ६ लाख रुपैयाँ मात्र प्राप्त भएको छ।
यो तथ्यांकले चालु आर्थिक वर्षमा सरकारको आम्दानी र खर्च व्यवस्थापनमा सुधार आवश्यक रहेको स्पष्ट संकेत गरेको छ।