काठमाडाैं- पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । पूर्वराजा शाहले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई भिडियोमार्फत शुभकामना दिएका हुन् ।
उनले नेपाल कसैको रणमैदान नभइ सबै नेपालीको साँझा थलो भएको बताएका छन् । उनले सबै नेपालीको घर नेपाल र जात नेपाली हो भन्दै नेपाललाई शान्तिथलो बनाउन आग्रह गरे । ‘नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऔँ। साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्र निर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो’ उनले सन्देशमा भनेका छन् ।
उनले थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौतीको समय भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘विश्व साम्राज्य कसैको अधिनमा थियो । संसारमा अधिकांश देशले औपनिवेशिक नियति भोग्दै थिए। थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौती थिएन।’
शाहले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको पनि सन्देशमा उल्लेख गरेका छन् ।