सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आफू परिवर्तन नहुने भन्दै यही नै ‘हर्कपथ’ भएको बताएका छन्। बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले बुधबार पत्रकार गोपाल दाहाललाई ‘पत्रकारिता सिध्याइदिने’ धम्की दिएका थिए । त्यसपछि आलोचना खेपेका साम्पाङले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
‘नडराइ बोल्नु र कसैको सामु नझुक्नु नै मेरो विशेषता हो’ उनले भने, ‘यो हर्कवाद हो, यही हो हर्कपथ । म चेन्ज हुन्न, म यस्तै हो ।’
पत्रकार दाहालले धरानमा भएका बेथिति र साम्पाङ ‘नक्कली माओवादी’ हुँदा वाइसिएलले पक्राउ गरेकोबारे समाचार लेखेका थिए। त्यसपछि मेयरले उनलाई सार्वजनिक रुपमा धम्की दिएका थिए ।
उक्त धम्कीको पत्रकारहरु आबद्ध संघ, संगठनले विरोध गरेका थिए। मेयर साम्पाङ यसअघि पनि विभिन्न प्रसंगहरुमा आपत्तिजनक अभिव्यक्ति दिएर विवादमा पर्दै आएका छन् ।