काठमाडाैं- इतिहासकार पुरुषोत्तम शमशेर जबराको बिहीबार ९९ वर्षको उमेरमा निधन भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको हो । राणा लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित थिए ।
रक्तचापमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । राणाका ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ (तीन भाग), ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’, ‘सम्झेका र सुनेका कुराहरू’, ‘भएका र गुज्रेका घट्नाहरू’, ‘लुकेछिपेका प्रतिभाहरू’, ‘मेरा जीवनका स्मृतिहरू’, ‘जङ्गबहादुर र राणाकालीन दर्पण’लगायतका पुस्तक प्रकाशित छन् ।
राणाको जन्म १९८२ साल चैत्र १५ मा काठमाडौंस्थित चारबुर्जा दरबार (हाल निर्वाचन आयोग रहेको भवन) मा भएको थियो । राणा रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् । जुद्ध शमशेरले हजुरबुवा रुद शमशेरलाई पाल्पा लखेट्दा पुरुषोत्तम मात्र ८ वर्षका थिए । पाल्पा दरबारमै उनले लेखपढ सिकेका थिए ।