हालै देशका विभिन्न स्थानमा भएको स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उत्साहजनक मत ल्याउन सकेन । सांगठानिक उपस्थिति राम्रै भएका ठाउँमा पनि अपेक्षाकृत मत नआउनुले पार्टीपंक्तिमा एकप्रकारको निराशाको सञ्चार गरेको छ । पार्टी झनै कमजोर बन्ने होकि भन्ने डरले कतिपयले चिन्ता व्यक्त गरिरहेका छन् । कतिपयले त यसैलाई मौकाका रुपमा उपयोग गरेर राप्रपा नेतृत्वको चरित्र हत्या गर्ने अस्त्र पनि बनाएका छन् । यी सबै परिस्थितिका बीच राप्रपाको एक इमानदार कार्यकर्ता र राप्रपाले लिएको लक्ष्यमा दृढ पार्टी सदस्यले यसलाई विग्रह, मनमुटाव र निराशाको दृष्टिकोणबाट नभई सिर्जना, जागरण र संघर्षको आवश्यक्ताका रुपमा बुझ्नु उचित हुन्छ । उपनिर्वाचनको यस परिणामले हामीलाई जनस्तरमा थुप्रै काम गर्नुपर्ने देखाएको छ ।
आजको व्यवस्थाले आममानिसलाई आक्रान्त पारेको छ । सीमित वर्गको मात्र स्रोतसाधन र पुँजिमाथि एकाधिकार छ । धनि धनि बन्दै जाने र गरिब गरिब बन्दै जाने असमान समाजको निर्माण भएको छ । मानिसका आधारभूत स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको अवस्था चिन्ताजनक छ । युवा पलायन यति तीव्र भएको छ की एउटा पुस्ता नै देश नफर्कने खतरा बढिरहेको छ । व्यवस्था पाल्नका निम्ति ऋण लिने र देशलाई थप भड्खालोमा हाल्ने क्रम जारी छ । यस्तो अवस्था निर्माण हुँदा पनि किन जनता अझै काँग्रेस कम्युनिष्टको मायाजालबाट मुक्त हुनसकेका छैनन् ? यो प्रश्नको उत्तर खोजी गर्नु आजको मूल आवश्यक्ता हो ।
राजसंस्था सहितको प्रजातन्त्र, सर्वधर्म समभाव सहितको सनातन वैदिक हिन्दू राष्ट्र, संघीयताको खारेजी लगायत मुद्दामा ठूलो जनमत निर्माण हुँदै गर्दा पनि स्थानीय तहको उपनिर्वाचनहरुमा किन त्यो मतका रुपमा प्रकट हुन सकेन ? यो प्रश्नको उत्तर खोजी गर्न हामी अन्य कतै जानुपर्दैन । यसको सबै कारण हामी भित्रै छ । सामान्यतः हरेक समस्याको कारण आन्तरिक हुन्छ भन्ने मान्यता छ । राप्रपाको कमजोर उपस्थितिको कारक पनि राप्रपा नै हो । राप्रपा भित्रै व्याप्त चरित्र, आचरण र कार्यशैली यसको कारण हो । हो, आज जनस्तरसम्म काँग्र्रेस कम्युनिष्टले शक्ति खन्याएका छन्, मानिसलाई प्रभाव पारेका छन् । विभिन्न उपभोक्ता समितिहरु मार्फत टुक्रे बजेट छरेर धेरै मानिसलाई मायाजालमा कब्जा गरेका छन् ।
यी सबै कारणले राप्रपाले स्थानीय तहको संगठनलाई जोगाउन सकेको छैन । जनतासमक्ष जित्ने दल हो भन्ने भाष्य र उपस्थिति देखाउन सकेका छैन । पार्टी अभियान, आन्दोलन र संघर्षमा खरो रुपमा उत्रन सकेको छैन । गाउँगाउँका नयाँ, सक्षम र सिर्जनशिल युवाहरुलाई पार्टीमा आवद्ध गराउन र जिम्मेवारी दिनसकिएको छैन । एउटा पुरातनवादी संगठनको शैली र चरित्रको गह्रुंगो भारी बोकेर हिँडेसम्म राप्रपाको उपस्थिति यस्तै कमजोर भइरहने खतरा छ । पार्टी भित्रै केही तत्व पार्टीको नेतृत्वलाई खुइल्याएर आत्मरतिमा रम्ने प्रवृत्ति छ । आ आफ्ना स्वार्थ पुरा नभएकाहरु जम्मा भएर कमजोर अवस्थामा नेतृत्वमाथि आक्रमण गर्न तछाँडमछाड गरिरहेका छन् । पार्टीको संगठनलाई हराउनका निम्ति अप्रत्यक्ष रुपमा भूमिका खेल्ने पार्टी सदस्यहरुनै अन्य सर्वसाधारणभन्दा खुशी देखिनुले पार्टीभित्रै समस्या भएको प्रष्ट हुन्छ ।
शिला खोज्नुपर्ने अवस्थाबाट पाँचौ ठूलो दल र राष्ट्रिय दल बनाएको नेतृत्वलाई केही स्थानीय तहको उपनिर्वाचनको मत देखाएर खिसिट्युरी गर्ने र आंग कन्याएर छारो उडाउने प्रवृत्तिलाई निस्तेज गर्नु अर्को आवश्यक्ता हो । गहिरो आत्मसमिक्षा र मन्थन गरेर जनतासँग जोडिने अभियानमा लाग्नु नै यस उपनिर्वाचनको शिक्षा र बुद्धिमानी कदम पनि हो । राजनीतिलाई रहर पुरा गर्ने माध्यम नबनाएर जनताका समस्या पहिचान गर्ने त्यसको समाधानका निम्ति अहोरात्र खटिने सैन्य शैलीको संगठन निर्माण नगरेसम्म राप्रपाले आजको कुव्यवस्थाले निर्माण गरेको जालोलाई तोड्न सक्दैन । सरकार, संसद, न्यायालय र प्रहरीको समेत दुरुपयोग गरेर आजको कथित व्यवस्थाले निर्माण गरेको यस दुरावस्थालाई परिवर्तन गर्न ठूलो संख्यामा पार्टी पंक्ति निर्माण गरेर जनताका घरआँगनमा जानुपर्छ । संघर्ष गर्नुपर्छ, राज्यसत्तासँग विद्रोह गर्नुपर्छ । तर, जनताका समस्या नसुन्ने, संगठन नगर्ने, प्रशिक्षण नगर्ने, लक्ष्यका निम्ति एकत्रित नहुने र निरन्तर छलफल, बैठक र अभियान नगर्ने हो भने पार्टी र समाजको सम्बन्ध टुट्छ । त्यसरि कमजोर भएको पार्टीलाई उठ्न धेरै समय लाग्छ ।
२०६४ सालयता पार्टी विभाजन हुने र सकिँदै जाने क्रम हुँदा आज त्यसको दीर्घकालिन परिणाम राप्रपाले बेहोरिरहेको छ । राप्रपाका पुराना नेता कार्यकर्ता विभिन्न कारणले काँग्रेस एमालेतिरै संगठित भएको हुँदा आजा राप्रपा पुनर्संगठित र पुनर्जागृत हुँदै गर्दापनि हामीलाई कतिपय ठाउँमा जनमत संकलन गर्न चुनौतिपूर्ण भएको छ । तर, अब राप्रपा एकत्रित छ । नेतृत्व परिवर्तनपछि राप्रपाले बोकेको विचारमा विस्तारै जनसमर्थन बढ्दैछ । प्राविधिक रुपमा स्थानीय तहमा जित्दैन भन्ने भाष्य निर्माण गरेर गणतन्त्रवादी दलहरुले एकाध ठाउँमा हराएपनि यो व्यवस्थाले देशको हित गर्दैन भन्ने जनमत निर्माण हुँदै गएको छ । केही समान मुद्दा बोकेका व्यक्तिहरुले केही समुह चलाएर आन्दोलनलाई विभक्त र कमजोस बनाउने प्रयास गरेपनि यस विचारको मूल बाहक शक्ति राप्रपा नै हो । राप्रपाले नै आजको व्यवस्थाले निम्त्याएको दुष्परिणामका विरुद्ध आवाज उठाउनुपर्छ । आन्दोलनको नेतृत्व गर्नुपर्छ । परिवर्तनको नायक शक्ति बन्नुपर्दछ ।
- यो व्यवस्थाबाट बेखुशी भएका जनतालाई राप्रपाले परिवर्तनको नेतृत्व गर्नसक्छ भन्ने विश्वास दिलाउनु आजको मूल आवश्यक्ता र चुनौति हो । हामी नवीन क्रान्तिको पक्षमा उभिएका छौं भन्ने सन्देश र विश्वास दिलाउन राप्रपाले कठिन अनुशासन र पद्धतिमा बाँधिएर निरन्तर आवाज उठाउनुपर्नेछ, संघर्ष गर्नुपर्नेछ । आजको व्यवस्थाले निर्माण गरेका समस्याका विरुद्धमा निर्मम भएर मैदानमा उत्रिनुपर्नेछ । राप्रपाले नेतृत्व पाएमा कस्तो देश बनाउँछ भन्ने रुपरेखा तयार गर्नुपर्दछ । सार्वजनिक रुपमा बहस गर्नुपर्दछ । राप्रपाका एक एक सदस्यले इमानको धरातलमा उभिएर साझा लक्ष्यका निम्ति त्याग र समर्पणको भाव राख्नुपर्दछ । राप्रपाले आज लिएको लक्ष्य कुनै सामान्य लक्ष्य होइन । सारा देशी विदेशी शक्तिकेन्द्रको स्वार्थमा लादिएको व्यवस्थाका विरुद्धको युगिन संघर्ष र विजयको लक्ष्य हो । लक्ष्य जति नै टाढा भएपनि निरन्तरता र इमादारीले त्यो प्राप्त हुनु अवश्यम्भावी छ ।
राप्रपाले यसअघि कार्यान्वयन गरेको नवीन राप्रपा कार्यक्रम र भूगोलस्तरीय संगठन सुदृढिकरणको कामले अपेक्षित परिणाम ल्याउनसकेन । अब त्यसको गम्भीर समिक्षा पार्टीभित्र होला । पार्टीका सबै इकाईहरुको अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउने, इमानदार युवाहरुलाई आकर्षित गर्ने काम गर्नुपर्दछ । पार्टीभित्र काम नगर्ने, तर मान खोज्ने प्रवृत्ति विद्यमान छ । त्यो प्रवृत्ति न त संघर्षका निम्ति तयार छ, न सन्यासका निम्ति तयार छ । यस्तो प्रवृत्तिले पनि पार्टीलाई अनिर्णयको बन्दी बनाइरहेको छ । पार्टीलाई जनताका पक्षमा काम गर्न भन्दापनि आन्तरिक द्वन्द्व र संघर्षमा अल्झाइरहने र नेतृत्वलाई असफल सावित गर्ने षडयन्त्र गहिरोसँग प्रकट भइरहेको छ । यी सबै षडयन्त्रलाई चिर्दै राप्रपाले अब कठोर कदमहरु लिनुपर्नेछ । दुईवर्षअघिको निर्वाचनबाट जागेको राप्रपाले किञ्चित हतोत्साहित नभई २०८४ को तयारी थाल्नुपर्दछ । पार्टीको आदर्श, सिद्धान्त र कार्यक्रमहरुलाई जनताको घरघरसम्म र मनमनसम्म लिएर जानुपर्दछ । जनताका पक्षमा कठोर मेहेनत गर्न पार्टीपंक्ति तयार हुनुपर्दछ । नेतृत्वले देशैभर काम गर्ने मानिसहरुको पहिचान गरि विभिन्न अभियान र आन्दोलनको वातावरण बनाउनुपर्दछ । महाधिवेशनमा गर्ने कित्ताकाटलाई सदैव पार्टीभित्र प्रकटीकरण गर्ने गुट सञ्चालनमा रमाउनेहरुले पार्टी बनाउँदैनन् । त्यस्ता प्रवृत्तिलाई चिर्दै राप्रपाले आफ्ना लक्ष्यहरु प्राप्त गर्न कठोर र इमानदार प्रयास जारी राख्नुपर्दछ ।