काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । काठमाडौंको यो पहिलो जित हो भने कर्णालीको लगातार दोस्रो हार हो ।
कर्णालीले दिएको १५० रनको लक्ष्यमा काठमाडौंले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । काठमाडौंका लागि गेर्हार्ड इरास्मसले ३८ र माइकल लेभिटले २२ रन बनाए । सुमित महर्जनले ४० अविजित र करण केसीले २८ रन बनाए । कर्णालीका लागि नन्दन यादव, गुल्शन झा, जिशान मक्सुद र विपिन शर्माले १–१ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । कर्णालीका लागि ओपनर शिखर धवनले अविजित ७२ रन बनाए ।
काठमाडौं गुर्खाजका लागि गेर्हार्ड इरास्मसले २ तथा कप्तान करण केसी, नाथन सोटर र दीपेश कँडेलले १–१ विकेट लिए ।
अब अर्को खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।