काठमाडौं- भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्तिले दुर्गा प्रसाईंबाट परिचालित रहेको खुलेको छ । बिहीबार पक्राउ परेका झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाल मेडिकल व्यवसायी प्रसाईबाट परिचालित रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दाबी गरेको हो ।
‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ । उनी यसअघि समेत विभिन्न कसुरमा संलग्न रही फरार रहेको खुल्न आएको छ ’ सीआईबीबाट जारी विज्ञप्तीमा भनिएको छ । फुँयालले विश्नोईको नाम लिएर विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग माफी माग्न भनेको खुलेको प्रहरीको दाबी छ ।
पक्राउ परेका फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने भएको छ । केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।