डोटी- डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चिकित्सकहरूमा डा. राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादव रहेका छन् ।
घरमै खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको थियाे ।
सामान्य उपचारपछि बुधबार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले रियाक्सन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बालिकाका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भनेपछि प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकहरू नियन्त्रणमा लिएको बताएकाे छ ।