सुर्खेत, १२ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको साताव्यापी कर्णाली यात्रा सम्पन्न भएको छ ।
राष्ट्रिय राजनीतिका सन्दर्भमा विपक्षी दलहरुले आ-आफ्नै माग राखेर सडक आन्दोलन गरिरहेका बेला राप्रपाको कर्णाली यात्रामा नागरिकहरुले स्वस्फूर्त सहभागिता जनाएपछि नेताहरुले खुशी व्यक्त गरेका छन् ।
कार्तिक ६ गते सल्यानबाट सुरु भएको यात्राको पहिलो दिन नेताहरुले सल्लीबजारमा भएको सभालाई सम्बोधन गरे । त्यस्तै, ७ गते सुर्खेतको बाबियाचौर र ८ गते दैलेखको दुल्लुमा आयोजना गरिएको जनसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाही लगायत नेताले सम्बोधन गरेका छन् ।
कर्णाली यात्राको चौथो दिन कालिकोट पुगेको राप्रपाको टोलीले मान्ममा विशाल जनसभाको आयोजना गर्यो । त्यस्तै, १० गते प्रवक्ता शाहीको गृहजिल्ला जुम्ला पुगेको टोलीले ११ गते आइतबार मुगुमा सबैभन्दा विशाल सभाको आयोजना गरेर कर्णाली यात्रालाई सुखद तवरले टुंगाएको हो । आइतवार मुगुको गमगढीमा भएको सभामा सहभागी हुन आएका हजारौं मानिसको खचाखच भीडका तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
मुगुको गमगढीमा सभा गरेपछि पार्टी अध्यक्ष राजेन्द्र लिंग्देनले सामाजिक सञ्जालमार्फत तुलनात्मक रुपमा कमजोर उपस्थिति रहेको कर्णालीमा जनलहर आएको प्रतिकृया दिएका छन् । उनले लेखेका छन्, ‘तुलनात्मक रुपमा राप्रपाको कमजोर उपस्थिति रहेको कर्णालीमा यो हप्ता हामीले सञ्चालन गरेको कर्णाली यात्रामा देखिएको जनलहरले हामी उत्साहित भएका छौं ।’
कर्णालीको प्रदेश सभामा १ सिटमात्र रहेका राप्रपाले पछिल्लो समय त्यहाँका संगठनमा सुधार ल्याएको छ । ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव जितेसँगै कर्णालीमा राप्रपाप्रतिको क्रेज बढेको कर्णाली यात्रामा देखिएको छ ।
त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कर्णालीको उपस्थितिलाई राजनीतिक रुपान्तरणको बलियो संकेत भनेका छन् ।
सोमबार कर्णालीबाट झरेर नेपालगञ्ज पुगेका मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कर्णाली यात्रा पुरा गरेर नेपालगन्जमा पुगियो । कर्णाली यात्रालाई भव्य रुपमा सफल पार्न सहभागी हुने मार्ग परिवर्तन गर्ने, सहयोग गर्ने सर्वसाधारण तथा पार्टीका स्थानीय नेता र सदस्यहरुपति आभार प्रकट गर्दछु । राप्रपाको संगठनात्मक उपस्थिति कमजोर रहेको क्षेत्रमा यति ठूलो उत्साह पाउनु देशमा राजनीतिक रुपान्तरणको बलियो संकेत हो ।’