सुर्खेत, ६ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको साताव्यापी कर्णाली यात्राको पहिलो दिन अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताहरु सल्यान पुगेर सम्बोधन गरेका छन् । बिहान बाँकेको चिसापानीमा स्थानीय नेता कार्यकर्तासँग सम्बाध गरेर गएका नेताहरुले सल्यानको सल्लीबजार पुगेर त्यहाँ आयोजित बृहत सभालाई सम्बोधन गरेका छन् ।
कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्ती शाही र प्रवक्ता ज्ञानेन्द्र शाही लगायतले सम्बोधन गरे । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीलाई दुर्गम नै राख्ने काँग्रेस कम्युनिष्टको प्रपञ्च रहेको बताए । कर्णालीलाई पछौटे नै राखेर बस्ने कुरा अब स्वीकार्य नरहेको शाहीको भनाइ छ । शाहीले जुम्लीलाई गरिब भनेर हेप्ने गरेको अवस्थामा अहिले जुम्लीले स्याउ बेचेर समृद्धि ल्याएको बताए ।
अध्यक्ष राजेन्द्र लिङ्देनले ३५ वर्षको अवधिमा काँग्रेस, एमाले र माओवादीले देशलाई पूर्णत असफल बनाएर बेरोजगार उत्पादन गर्ने कारखनामा परिणत गरेको भन्दै आलोचना गरे । देशलाई गणतन्त्र, संघीयता र धर्म निरपेक्षताबाट मुक्त गराउन जनता र मतदाता परिवर्तन हुनुपर्नेमा अध्यक्ष लिङ्देनको जोड दिए ।
भोलि राप्रपाले सुर्खेतको बाबियाचौरमा जनसभा राख्ने कार्यक्रम रहेको छ ।