सल्यान, ६ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३५ वर्षको अवधिमा काँग्रेस, एमाले र माओवादीले देशलाई पूर्ण रुपमा बेरोजगार उत्पादन गर्ने कारखनामा परिणत गरेको आरोप लगाएका छन् ।
राप्रपाले आजदेखि सुरु गरेको कर्णाली यात्राका क्रममा सल्यानको सल्लीबजारमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन पार्टीका कारणले जनता र देश बर्बादी तर्फ गएको टिप्पणी गरे । काँग्रेस एमालेजस्ता दुई ठूला दल मिल्दापनि जनताका पक्षमा काम हुन नसकेको भन्दै लिङ्देनले राप्रपा जनतलाई जगाउन कर्णालीमा आएका बताए । देश र यहाँका शासक असफल र भ्रष्ट हुँदा युवाहरु छानो फेर्न र पक्की घर बनाउनका लागि विदेश नै जानुपर्ने बाध्यता रहेको लिङ्देनको भनाइ छ ।
प्राकृतिक विपत्तिको सामना गर्न समेत नसेकको भन्दै लिङ्देनले प्रधानमन्त्री ओलीको आलोचना गरे ।
‘विपदका बेलामा प्रधानमन्त्रीले झर्केर बोल्न मिल्थ्यो ? मौसम पूर्वानुमान महाशाखाले कहाँ कहाँ पानी पर्ने भन्ने बताएको थियो । तर, यो सरकारले त्यसमा कुनै रोकथाम र उद्दार राहतको प्रभावकारी व्यवस्था गर्न सकेन ।’ लिङ्देनले भने
स्रोत साधनका हिसावले, प्राकृतिक हिसावले नेपाल विकास हुननपर्ने कारण केही नभएको भन्दै लिङ्देनले मरुभूमीहरुले तीव्र विकास गरिसक्दा नेपालजस्तो भूस्वर्ग किन विकास हुन नसकेको भन्दै प्रश्न गरे ।
शिक्षा, स्वास्थ्यजस्ता आधारभूत र मौलिक आवश्यक्ता पनि सहज रुपमा पाउने अवस्था नभएको र प्राइभेटमा जाँदा औषधि र उपचारको खर्च धान्ने नसकिने अवस्था रहेको लिङ्देनले बताए । औषधि उपचारको खर्च नभएर मृत्यु कुरेर बस्ने मानिसपनि छन् भन्दै लिङ्देनले यी सबै व्यवस्थापन गर्न यो सरकार र यो व्यवस्थाबाट सम्भव नहुने स्पष्ट पारे ।
३५ वर्षदेखि एउटै पार्टीलाई भोट हाल्दा मानिसले आफ्ना छोराछोरीलाई विदेशमा बेचेर बस्नुपरेको भन्दै लिङ्देनले मतदातालाई सच्चिन अनुरोध गरे । परिवर्तनका नाममा ३६ हजार जनप्रतिनिधि पाल्न नसकिने भन्दै अध्यक्ष लिङ्देनले तीनलाई तलब खुवाउन विदेशीसँग ऋण लिने गरेको बताए ।
संघीयता आउनुअघि ६ खर्बमा रहेको ऋण अहिले सम्म आउँदा २५ खर्ब भएको भन्दै अध्यक्ष लिङ्देनले तत्काल संघीयता खारेज गर्नुपर्ने बताएका छन् । देशलाई कथित धर्मनिरपेक्षता बनाउन यी राजनीतिक दलमात्र दोषी नभएर ती पार्टीलाई भोट दिने क्षेत्री बाहुन पनि दोषी भएको लिङ्देनको आरोप छ ।