रुकुमपश्चिम- रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले नक्कली रूपमा भूकम्पपीडित बनेर अस्थायी आवास अनुदान लिएको भए त्यस्ताका विरुद्ध उजुरी गर्न आग्रह गरेको छ ।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित बनेकाहरुको लाभग्राही कायम गर्ने क्रममा नक्कली पीडित बनेको भए स्थानीय सरकारलाई सूचना दिन तथा उजुरी गर्न नगरपालिकाले अनुरोध गरेको हो ।
गर कार्यपालिकाको गत चैत २८ गते बसेको बैठकबाट पनि उजुरी दिन आग्रह गर्ने निर्णय भएको छ ।
बैठकले लाभग्राहीका सम्बन्धमा कुनै गुनासो भए लिखित उजुरी दिनुका साथै कार्यविधि बमोजिम वास्तविक लाभग्राही भए, नभएको जाँचबुझ गरेर मात्र दोस्रो किस्ताको अनुदानको लगि सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमका अनुसार हालसम्म जिल्लाभर ३२ हजार ९९६ जना लाभग्राही कायम भएका छन् । यीमध्ये चौरजहारी नगरपालिकामा मात्र सात हजार ५०२ जना लाभग्राही कायम भएका छन् ।