दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभावकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानको रुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिको रुपमा नयाँ मेसिन प्रदान गरेको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने र रजिष्टार प्राध्यापक श्याम लम्साललाई मेसिन हस्तान्तरण गरेका हुन् ।
रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले युरोलोजी सेवालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने बताए । युरोलोजिष्ट डा.प्रवोध रेग्मीले मेसिनको सहायतामा किड्नी, नली र पिसाब थैलीको पत्थरी फुटाउन, प्रोष्टेडको ग्रन्थी र क्यान्सरको जोखिम भएको मासु निकाल्न पनि सकिने बताए ।