काठमाडाैं : उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाविरुद्ध न्यायपरिषद्मा उजुरी दर्ता भएको छ । २ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा हत्या गरिएका पञ्चदेवल विनायक नगरपालिका– ४ का मृतक विनोद शाहीका दाजु डम्मरबहादुर शाहीले पीडितका तर्फबाट थापाविरुद्ध उजुरी दिएका हुन् ।
मुद्दाको सुनुवाइ हुनुअघि निर्धारित समयभित्र वादी र पीडितका तर्फबाट पेसी स्थगित गरिदिन अनुरोध गरिएकामा मुख्य न्यायाधीश थापाले प्रतिवादीलाई राहत पुग्ने गरी मुद्दा सुनुवाइ गरेर आदेश दिएकाले उनलाई कारबाही गरिदिन पीडितको तर्फबाट न्यायपरिषद्मा उजुरी परेको हो ।
शाहीको ज्यान मुद्दा हाल अछाम जिल्ला अदालतमा विचाराधीन रहेकै अवस्थामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका अभियुक्त दानमती शाहीलाई उच्च अदालत दिपायलले गत १४ फागुनमा धरौटीमा छोड्न आदेश दिएको थियो ।