ललितपुर : आइतबार होलीको दिन ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनाका आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका–२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ–२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
त्यसका साथै घटनामा संलग्न पाजु गुरुङ भन्ने व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको छ। यस घटनामा अनुसन्धानका लागि थप ८ जनालाई पनि नियन्त्रणमा लिइएको छ।
होलीको साँझ सो खाजा घरमा दुई समूहबीच भएको झडपमा होटल सञ्चालक राईले किचेनबाट छुरा निकालेर मृतकद्वयलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।