काठमाडौं : पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रकम फिर्ताका लागि पहल गरिदिन माग गर्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन्।
समितिका सभापति रामहरि खतिवडालाई भेटेर बिहीबार बचतकर्ताहरूले रकम फिर्ताका लागि पहल गरिदिन माग गरेका हुन् ।
उक्त सहकारीले १८ हजार ७०० वचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भएपनि विगत २ वर्ष यता कसैले पनि फिर्ता पाउन नसकेको पीडितहरुले बताएका छन् । रकम फिर्ता नपाएपछि कानूनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई(जिबि राई) पक्राउ पर्न नसकेका भन्दै उनीहरुले राईलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन् ।
सहकारी पीडितले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा सोही १६ जना व्यक्ति तथा संस्थाकाविरुद्धमा उजुरी दिएका थिए ।