काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेकपा माओवादी केन्द्र उपाध्यक्ष कृष्णबहादुर महरासँग आज (बुधबार) देखि बयान लिने भएको छ ।
सीआईबीले विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा आजदेखि पुनः बयान लिने तयारी गरेको हो ।
सीआईबीले यसअघि पनि महरासँग बयान लिएर छाडेको थियो । पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः अनुसन्धान गरेर पूरक अभियोग दर्ता गर्ने भएको हो ।
महराको विषयमा जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर बुधबारदेखि अनुसन्धान अगाडि बढाइने सीआईबीका एक अधिकारीले जानकारी दिएका छन् । ‘यसअघिको अनुसन्धानमा औंल्याएका त्रुटि र अब गर्नुपर्ने विषय पनि प्रतिवेदनमा निर्देशित गरिएको छ, त्यसैलाई आधार बनाएर अनुसन्धान अगाडि बढ्छ’, उनले भने ।
सीआईबीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालत, काठमाडौंले चार दिनको म्याद दिएको छ । अदालतले महराको स्वास्थ्य परिक्षणकाे निर्देशनपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । मंगलबार दिनभर उनलाई अस्पतालमै राखिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।