काठमाडाैं : विभिन्न ठाउँका अस्पतालहरुमा कार्यरत नर्सहरुमाथि श्रम शोषण गर्नहरुलाई कारबाही गर्न नेपाल नर्सिङ संघले आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले नर्सहरुलाई नियूक्ति पत्र नदिएरै काममा लगाएको, तलब भत्ता समयमा नदिएको, विना सूचना जागिरबाट निकालेको पाइएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।
‘नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक समेत नदिइएको र श्रम शोषण गरेको भनि यस संघमा निवेदन पर्न आएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नर्स जस्तो दक्ष जनशक्ति र नर्सिङ पेशाको अवमुल्यन गर्ने, उचित पारिश्रमिक नदिई शोषण गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई अविलम्व कारवाहीको दायरामा ल्याउन यस संघ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय लगायत सम्बन्धित निकायहरुको गम्भिर ध्यानाकर्षण गराउँदछ ।’