अछाम : बढी शुल्क लिएको भन्दै अछामको जनकल्याण माविमा विद्यार्थीहरूले ताला लगाएका छन् । साँफेबगर नगरपालिका–४ मा रहेको जनकल्याण माविमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ताला लगाएका हुन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले तोकेको भन्दै बढी शुल्क लिएको भन्दै सिभिल इन्जिनियरिङ र जियोमेट्रिक अध्ययनरत विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
सीटीईभीटीले अधिकतम २ लाख ३० हजार रुपैयाँ शुल्क लिन पाउनेगरी तोकेको थियो । तर, विद्यालयले २ लाख ५१ हजार २०० रुपैयाँ लिँदै आएको छ । बढी शुल्क घटाउन माग गर्दा विद्यालयले आनाकानी गर्दै आएको भन्दै तालाबन्दी गरिएको अनेरास्ववियु अछाम जिल्ला कमिटी सह–सचिव मनोज रावलले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक भीम बहादुर बुढाले विद्यालय व्यवस्थापन समितिले नै निर्णय गरेको र नयाँ समिति आएपछि मात्रै शुल्कबारे निर्णय गरिने बताउँदै आएका छन् ।