काठमाडौं : प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।
आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले बताए ।
आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए। स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो ।
प्रहरीले होटलका सञ्चालक कृष्ण बिक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए। उनीहरूको साथबाट भारतीय रुपैयाँ ११ लाख रुपैयाँ पनि बरामद भएको एसपी बोहराले बताए ।
त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरूको साथबाट ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको एसपी बोहोराले बताए ।
बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ ।