काठमाडाैं- आफ्नो व्यक्तिगत जीवन खोतलेर समाचार बनाएको भन्दै गायिका एलिना चौहानले आपत्ति जनाएकी छिन् ।
प्रेमीसँग ब्रेकअफ भएको भन्दै आएका समाचारले आफूलाई मानसिक तनाव दिएको उनले सामाजिक सञ्जालमार्फत बताएकी छिन् । एक लामो पोष्ट राख्दै गर्दै उनले सञ्चारमाध्यमले आफ्नो दुःख, पीडा र अपमान नदेख्ने गरेको गुनासोसमेत पोखेकी छिन् ।
उनले कार्यक्रममा जाँदा विभिन्न दुर्व्यवहारसमेत भोग्नु परेको बताएकी छिन् । ‘अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ती जा भनियो । नत्र उहाँहरुले चाहेसम्म गाएको गाएकै गर्न निर्देश गरियो, हाम्रै संगीत क्षेत्रको अभिभावकले ।त्यसपछि अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दुर्व्यवहार गर्न खोजे र मैले त्यसको तुरुन्त प्रतिकार गरे । यो आयोजकको गल्ती हैन र ? यस्ता कुरामा सजक हुनुपर्ने हैन र ?’ उनले लेखेकी छिन् ।