काठमाडौं : विश्वमा सबैभन्दा धेरै स्मार्टफोन विक्रेताका रूपमा एप्पल पहिलो स्थानमा परेकाे छ ।
सन् २०१० यता पहिलो पटक अमेरिकी ब्रान्ड एप्पल विश्वकै ठूलो फोन निर्माता कम्पनी बन्न सकेको हो । विगत तेह्र वर्षदेखि स्मार्टफोन बजारमा अग्रस्थानमा रहेको कोरियाली ब्रान्ड सामसङलाई एप्पलले उछिनेको छ ।
इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) का अनुसार सन् २०२३ मा एप्पलले २३ करोड ४६ लाख स्मार्टफोन बेचेको थियो भने सामसङले २२ करोड ६६ लाख वटा बेचेको थियो ।
स्मार्टफोन बजारमा कुल २०.१ प्रतिशत हिस्सासहित हाल एप्पल सबैभन्दा अगाडि छ । पछिल्लो समय धेरै प्रयोगकर्ताहरूले महँगा फोनहरू किनिरहेको र पुराना फोन बेचेर नयाँ लिने सुविधाका कारण एप्पलको बजार बढेको बताइन्छ । पुरानो दिएर नयाँ लिने ‘एक्सचेन्ज अफर’ सँगै ब्याजरहित किस्ता सुविधाजस्ता पहलका लागि एप्पलको तारिफ हुने गरेको छ ।
आईडीसीको रिपोर्टमा १९.४ प्रतिशत बजार हिस्सासहित सामसङ दोस्रो स्थानमा छ भने चिनियाँ फोन निर्माता साओमी, ओप्पो र ट्रान्सियन त्यसपछि रहेका छन् । गत वर्ष विश्वभर १ अर्ब २० करोड स्मार्टफोन बिक्री भएका थिए । यो सन् २०२२ को तुलनामा ३ प्रतिशतले कम हो भने पछिल्लो दशकको सबैभन्दा कम संख्या रहेको बीबीसीले उल्लेख गरेको छ ।
बढ्दो नियामक चुनौती र चीनमा हुवावेसँगको थपिँदो प्रतिस्पर्धामाझ एप्पलले सबैभन्दा धेरै फोन बेच्नेमा पहिलो स्थान कायम गरेको आईडीसीकी नबिला पोपालको भनाइ छ । अमेरिकी प्रविधि खरिदमा प्रतिबन्ध लगाइएपछि हुवावेले हाल आफ्नै सेमिकन्डर चिप निर्माण गर्ने कार्यमा उल्लेख्य प्रगति हासिल गरेको छ । यसअघि हुवावेले स्मार्टफोन र अन्य डिभाइसहरूमा प्रयोग हुने सेमिकन्डर चिप अमेरिकी कम्पनी क्वाल्कमसँग खरिद गर्दै आएको थियो ।
सन् २०२३ मा स्मार्टफोनको समग्र बजार सुस्ताए पनि सन् २०२४ मा भने सुधार आउने आकलन गरिएको छ । यो साल नयाँ-नयाँ फिचरका परिष्कृत मोडलहरू सार्वजनिक हुँदैछन् ।आईडीसीका अनुसार एन्ड्रोइड डिभाइस निर्माताको संख्या बढ्नुका साथै उपभोक्ताले पनि फोल्डेबल र एआई टुल समाहित फोनलाई प्राथमिकता दिएसँगै स्मार्टफोन बजार अब ‘निकै रोचक समय’ मा प्रवेश गरेको छ ।