काठमाडौं : शुक्रबार राति बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस दुर्घटनामा पर्यो । भालुबाङको राप्ती पुलबाट नदीमा खसेको उक्त बस दुर्घटनामा १२ जनाको मृत्यु भयो । दुर्घटनामा २३ जनाभन्दा बढी घाइते भए ।
यस्तै शनिबार दिउँसो चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरामा कार दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको कार अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो ।
त्यसैगरी बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज १९ नम्बरको जीप शनिबार बिहान दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भयो ।
झापामा बा४६ प २१०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय गुनाल राजवंशीको शुक्रबार साँझ मृत्यु भएको छ।यसै गरी दोलखाको जिरी नगरपालिका–४ सिउरेनीमा लु.३ त ६८८२ नम्बरको ट्याकटर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
त्यस्तै काठमाडौंकाे नागार्जुन नगरपालिका–४ बाफस्थित सोल्टी दोबाटो नजिक बा.९१ प १५९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस्तै पर्सा, रौतहट, बर्दियामा पनि सवारी दुर्घटना हुँदा एक/एक जनाले ज्यान गुमाएका छन् । यसरी हेर्दा पछिल्लो २ दिनमा २५ ज्यान सवारी दुर्घटनामा गुमेका छन् ।
असुरक्षित सडक, सवारी चालकको लापरबाही तथा पूराना पूर्जाका कारण सवारी दुर्घटनाको ग्राफ बढ्दै गइरहेको छ । नेपाल प्रहरीका अनुसार यो वर्षको ८ महिनामा मात्रै १० हजार ७ सय ४५ वटा दुर्घटना भएका छन् । जसमा परेर ९१६ जनाले ज्यान गुमाएका छन् । मंसिरसम्म भएका दुर्घटनामा २ हजार ७ सय ९१ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांक छ ।
प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ६ हजार १ सय ६७ जनाले ज्यान गुमाएका छन् । भने, १५ हजार ७ सय ७१ जना गम्भीर घाइते भएका छन् ।
दैनिक भइरहेको सवारी दुर्घटना न्यूनिकरण गर्न सडक सुरक्षासम्बन्धी सचेतना अभियानलाई तिव्रता दिनुपर्ने माग सरोकारवालाले गरेका छन् । यस्तै सडक पूर्वाधारको मापदण्ड चेकजाँच र अनुगमनसमेत गर्नुपर्ने अधिकारीहरु बताउँछन् ।