काठमाडाैं: गौशाला २६ ले आफ्नो पहिचान खुलाउनेविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएकी छन् ।
गौशाला २६ ले आफूविरुद्ध वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर र कम्प्युटर सम्बन्धी कसुर भएको भन्दै बिहीबार साइबर ब्यूरोमा जाहेरी दिएकी हुन् ।
जाहेरी परेपछि पहिचान खुलाउने व्यक्तिहरूको खोजीका लागि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।२०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा सन्दीप लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । सो मुद्दामा न्यायाधीश शिशिर ढकालको इजलासले फैसला गर्दै लामिछानेलाई दोषी ठहर गरेको थियो ।
अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय, ३ लाख जरिवाना र २ लाख पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको छ ।