काठमाडौं : खोटाङ घर भई काठमाडौं बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय हिमाल राईले चाबहिल, गंगाहिटी, महाराजगन्ज लगायतका ठाउँमा ‘भिजनरी ड्रिमी प्रालि’ सञ्चालन गरेका थिए । उनले तिनै कम्पनीमा कामदार आवश्यक परेको र तलब मासिक ५० हजार रुपैयाँ हुने भन्दै फेसबुकमा विज्ञापन गरे ।
तर, त्यो अगाडि सीप सिक्नुपर्ने भन्दै उनले विज्ञापनमार्फत सम्पर्कमा आएका व्यक्तिबाट प्रति व्यक्ति एक लाख १३ हजार रुपैयाँ उठाए । त्यसरी उनले १५ जनाबाट कूल १६ लाख ९५ हजार रुपैयाँ रकम उठाए । तर, तालिम नै नदिएर कार्यालय बन्द गरेर फरार भए ।त्यसपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले राईलाई शुक्रवार पक्राउ गरिएको छ ।
फेसबुकमा विज्ञापन राखेर ‘नेटवर्किङ’ मार्फत काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढानीलकण्ठ नगरपालिका चपली हाइटको घुम्तीबाट पक्राउ गरेको हो ।