हरेक अतिवाद घातक हुन्छ । चाहे त्यो उग्र बामपन्थ होस् या उग्र दक्षिणपन्थ । खासमा नेपालमा एकमात्र मध्य दक्षिणपन्थी पार्टी छ । त्यो हो राप्रपा । राप्रपाले नरम सम्वर्धनवादी विचारलाई अंगिकार गरेको छ । राजनीति कित्ताबाट परिभाषित गर्ने हो भने यो नरम दक्षिणपन्थ हो । यस पंक्तिमा मैले सम्वर्धनवादको साटो दक्षिणपन्थ शब्द प्रयोग गरेको छु । किनकी दक्षिणपन्थ भनेको अत्यन्तै खराब राजनीतिक कित्ताका रुपमा कपटपूर्ण तरिकाले नेपालमा परिभाषित गरिएको छ । कतिपय राप्रपा कै सदस्यले पनि आफुलाई दक्षिणपन्थी भन्न संकोच मानेको देखिन्छ । किनकी उनीहरुमा पनि यहाँका विकृत बामपन्थीहरुले अग्रगमन र प्रगतिशिलताका नाममा भ्रमहरु रोपिदिएका छन् ।
नेपालमा पछिल्लो ३-४ दशकदेखि समाजको चेतनालाई जबर्जस्ती बामपन्थीकरण गरिएको छ । कथित बामपन्थीहरुले निर्माण गरेको समाज, राजनीति र अर्थतन्त्रको भाष्यलाई चिर्न कठिन भएपनि समयक्रममा उनीहरुको ढोंग र अकर्मण्यता छताछुल्ल भैसकेको छ । देशको इतिहास, धर्म, संस्कार, परम्परा र मौलिक पहिचानलाई ध्वस्त पारेर कथित समाजवादको नारा लगाएर आएका बामपन्थीहरुले सिंगो समाजलाई नै तीव्र विचलनमा पुर्याएका छन् ।
शाब्दिक रुपमा सुन्दर कुरा गरेर दशकौं जनतालाई गुमराहमा राखेपनि अब ती बामपन्थीहरुको कुनैपनि प्रयत्नले काम गर्नेवाला छैन । उनीहरुका गुलिया कुरामा जनताको कुनै रुची छैन । परिणामतः जनता पुनः एकपटक संघर्ष गर्ने मनशायमा पुगेका छन् । नेपालमा राजनीतिक संघर्षका लागि यो समेत चौथो पुस्ता तयार भएको देखिन्छ । ६२/६३ को परिवर्तनसम्म आउँदा तेश्रो पुस्तासम्मको सहभागिता थियो । विसं २०८० को दशकसम्म आइपुग्दा राजनीतिक परिवर्तनका लागि चौथो पुस्तापनि तयार भैसकेको छ ।
पछिल्ला समय राजालाई पुनर्स्थापित गर्नुपर्ने, हिन्दू अधिराज्य बनाइनुपर्ने र संघीयता नाम वीषवृक्ष खारेज गरिनुपर्ने माग बलियोगरि अभिव्यक्त भैरहेको छ । यद्यपी अहिले भैरहेका आन्दोलनलाई लिएर कतिपयले आआफ्नो टिप्पणी गरेका छन् । अहिले भैरहेका संघर्षलाई कतिपयले वर्तमान व्यवस्थाप्रति असन्तुष्टिमात्र भनेका छन् भने कतिले नयाँ व्यवस्थातर्फको संघारका रुपमा बुझेका छन् । अहिले सडकमा उत्रिरहेका मानिसहरुका आआफ्ना विशिष्ट समस्या हरु छन् । दुःखहरु छन् । सडकमा नआएका मानिसरुको दैनन्य दुःखहरु पनि असीमित छन् ।
यो सबै परिदृश्यका बीच यी आन्दोलनहरुको औचित्य र एजेण्डा के होला भन्ने धेरैमा जिज्ञासा छ । विश्वका हरेक समाजको चरित्रलाई हेर्ने हो भने समाज सदैव गतिशिल हुन्छ । परिवर्तनको भोको हुन्छ । राजनीतिक व्यवस्थाहरुको परीक्षण गर्न मानिस आतुर हुन्छन् । सोही अनुसार नेपालमा हालसम्म विभिन्न राजनीतिक कित्ताले गरेको उद्देलनमा आन्दोलन हरु भएका छन् ।
२००७ को आन्दोलन राजा र तत्कालिन काँग्रेस मिलेर गरे । जसले नेपालमा राणाशासनको अन्त्य गर्यो । त्यो मूलतः आधारभूत प्रजातन्त्रको प्राप्तिका लागि भएको थियो । त्यसपछि पञ्चायतका विरुद्ध नेपाली काँग्रेस र बामपन्थी दलहरु मिलेर आन्दोलन गरे । जसमा मुख्यतः काँग्रेसको नेतृत्वदायी भूमिका थियो । त्यसले २०४६ सालमा परिवर्तन गर्यो उक्त आन्दोलनले नेपालको ऐतिहासिक राजसंस्थाको निरन्तरता सहित जनतामा निहीत बहुदलीय प्रजातन्त्रको स्थापना गर्यो ।
उक्त व्यवस्था मन नपराएको तत्कालिन माओवादीले २०५१ सालबाट सुरु गरेको हिंसात्मक आन्दोलनले हजारौं मानिसको ज्यान लियो । माओवादीको वैचारिकी र काँग्रेसको राजनीतिक नेतृत्वमा ६२/६३ को आन्दोलनले नेपालमा ठूलो राजनीतिक र शासकीय परिवर्तन गर्यो । जसलाई सम्बर्धनवादीहरुले नरुचाएपछि राजनीतिको ठूलो हिस्साले जीतका रुपमा परिभाषित गर्यो र हालसम्म जनतालाई तिनै कागजी व्यवस्थाको हवाला दिएर भ्रम छरिरहेका छ । परिणामतः देश थप थिलथिलो र असफलताउन्मुख दिशामा लग्यो ।
यी सबै परिवर्तनको चक्र हेर्दा सुरुमा आधारभूत प्रजातन्त्रका लागि समाज लड्यो । दोश्रोमा प्रजातान्त्रिक आन्दोलन भयो । जसले उग्र बामपन्थ र उग्र दक्षिणपन्थ मार्फत नभई मध्यपन्थी प्रजातन्त्र मार्फत (सेन्टरल लिवरल) समाजलाई नेतृत्व गर्नुपर्ने व्यवस्थालाई स्थापित भयो । तर, पुनः माओवादी जस्तो उग्रबामपन्थी दलको प्रभावमा परेर काँग्रेसले आफ्ना मध्यपन्थी कित्ता छाडेर बामपन्थी मुद्दामा आत्मसमर्पण गर्यो । यसरी हेर्दा अहिले नेपालमा भएका सबै दल बामपन्थी (सेन्टर लेफ्ट) हुन भन्दा गलत हुँदैन ।
यो सबै भूमिका व्याख्या गर्नुको कारण अब कस्तो व्यवस्था हुन्छ र हुनुपर्छ भन्ने हो । हरेक समाजले सुरुमा आधारभूत प्रजातन्त्र वा स्वतन्त्रताका निम्ति संघर्ष गर्छ । त्यसपछि उन्नत प्रजातन्त्र र आर्थिक अधिकारका निम्ति संघर्ष गर्छ । त्यसपछि नेपालजस्ता गरिबी भएका मुलुकमा बामपन्थी (कम्युनिष्ट)हरुले संघर्ष गर्छन । जब कम्युनिष्टहरुको आन्दोलनपनि सफल हुन्छ त्यो बेलासम्म देशको पहिचान, मौलिकता, धर्म, इतिहास सबै मेटिइसकेका हुन्छन् । भन्नलाई समाजवादी भन्ने तर, आचरणमा सामन्तवादी चरित्र बोकेका कम्युनिष्टहरु पनि विफल भएपछि समाज विस्तारै सम्वर्धनवादी विचारमा ढल्किन्छ । ढिलै सहि समाजले आफ्नो इतिहास, मौलिकता, विशिष्ट पहिचान सम्झन थाल्छ । आफ्नो अस्तित्व र औचित्यको खोजी गर्न थाल्छ ।
हो, नेपाल अहिले त्यस्तै पहिचान र मौलिकता विहीन अवस्थामा पुगेको छ । नेपालको अक्षुण्ण सार्वभौमिकता खतरामा छ भने राष्ट्रिय अखण्डता पनि कमजोर बनेको छ । धर्म मासिएको छ भने धर्मान्तरणका नाममा मौलाएको सांस्कृतिक अतिक्रमण खतरनाक अवस्थामा पुगेको छ । नयाँ पुस्तालाई इतिहासका बारेमा गलत सूचना र व्याख्या भरिदिएर उनीहरुमा देश र राष्ट्रियताको भावना विकास गर्न दिइएको छैन । युवा बस्नै नसक्ने देश बनाएर नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विरासत ध्वस्त बनाइएको छ ।
हो जब समाज यस्तै अव्यवस्थामा पुग्छ । आर्थिक, सांस्कृतिक र ऐतिहासिक रुपमा देश कमजोर बन्छ तब सुरु हुन्छ सम्वर्धनवादी आन्दोलन । सम्वर्धनवादी अर्थात दक्षिणपन्थी आन्दोलनलाई कतिपयले प्रतिगमन भन्ने गर्छन । यो उनीहरुको जालसाँजी हो । वास्तवमा नेपालको समाज सुहाउँदो राजनीतिक व्यवस्था भनेकै दक्षिणपन्थी व्यवस्था हो । जसले यस विशिष्ट भूगोलको ऐतिहासिक र सांस्कृतिक विशेषताको रक्षा गर्दै मौलिक प्रजातन्त्रको अभ्यास गर्छ । इतिहासको निरन्तरता र बलियो सार्वभौमिकताका लागि संवैधानिक राजसंस्थाको वकालत गर्छ । बहुसंख्यक मानिस र समाजको मौलिक धर्महरुको रक्षा गर्नुपर्ने आवाज उठाउँछ । भूगोललाई खण्डित गर्ने पाखण्ड व्यवस्थाको विरोध गर्छ । राज्यको एकात्मकता र विकासको संघीयतामा विश्वास गर्छ । देशको संस्थापन शक्ति, राजनीतिक दल र जनताका आधारभूत अधिकार सबै सुरक्षित हुनेखालको मिलिजुली व्यवस्थलाई अंगिकार गर्छ । सारमा भन्दा निरन्तरता सहितको गतिशिलतामा विश्वास गर्छ ।
यतिबेला वर्तमान व्यवस्थाको विरुद्ध आवाज उठिरहँदा कतिपयले यसको राजनीतिक वैधता नभएको पूर्वाग्रही टिप्पणी गरिरहेका छन् । हुनपनि अहिलेका विरोध र आन्दोलनहरुले राजनीतिक उद्देश्य र त्यसको स्वरुपका बारेमा आफुलाई स्पष्ट पार्न सकेका छैनन् । अहिले खण्डित रुपमा भैरहेका आन्दोलनहरुको समष्टि भनेको संम्वर्धनवादी अर्थात दक्षिणपन्थी आन्दोलन नै हो । अहिले भैरहेको आन्दोलनले निर्माण गर्ने व्यवस्था भनेको मुख्यतः मौलिक धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानको पुनर्स्थापना नै हो ।
कतिपयले राजा सहितको व्यवस्थालाई प्रजातन्त्रविहीन व्यवस्था भनिरहेका छन् । तर, यो सरासर झुठ र भ्रमको खेती हो । किनकी नेपालमा राजासहितको प्रजातन्त्रको सन्तुलित अभ्याँस २०४६ सालयता पनि भएकै हो । ४६ देखि ६२ सम्म बहुदलीय प्रजातन्त्रलाई दलहरुले भ्रष्टतन्त्र र लुटतन्त्रमा परिणत गरे तथापी उनीहरुले ती सबै असफलताको दोष राजालाई दिएर दिल्ली लगायतको सहयोगमा नेपालबाट संवैधानिक राजा फाले । त्यसपछिको १७ वर्षमा देश थप खत्तम, अराजक र बस्ने नसक्ने अवस्थामा पुग्यो । तर, लाज नभएका आफुलाई अग्रगामी भन्ने विचौलियाहरु अझै पनि राजालाई दोष देखाएर यो असफल व्यवस्था टिकाउने अन्तिम प्रयास गर्दैछन् ।
तर, अहिले समाजको चेतना माथि गइसकेको छ । एकजना राजा हुनाले देश असफल भएको होइनरहेछ । बर, राजनीतिक दलहरुको बेइमानी, भ्रष्टाचार र लुटका कारण देश असफल भएको निश्कर्ष जनताले निकालिसकेका छन् । यो यहि आयातित व्यवस्थाका विरुद्ध अबको संघर्ष हो । यहि संघर्षले नेपालको मौलिक प्रजातन्त्रको रक्षा गर्दै गुमेका धार्मिक, सांस्कृतिक र ऐतिहासिक विरासतको पुनर्स्थापना गर्छ । र यसको नेतृत्व नेपालको एकमात्र सम्वर्धनवादी अर्थात नरम दक्षिणपन्थी दल राप्रपाले गर्छ । र त्यसैको संघारमा यतिबेला देश रहेको छ ।
लेखक राप्रपाका केन्द्रीय सदस्य हुन् ।