काठमाडौं : काठमाडौंमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा गैरआवासीय नेपाली संघमा आबद्ध दुईजना अभियन्तासमेत छन्। यस्तै, नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन्।
आइतबार राति नागार्जुन नगरपालिका–३ ठुलोभर्याङ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए।
हाई प्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दबाब आइरहेको बताइएको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाई प्रोफाइल भएकैले छाड्न तीव्र दबाब आइरहेको ती अधिकारीको भनाइ छ। उनले हाई प्रोफाइल भनिएका व्यक्तिहरुको थप विवरण भने खुलाउन चाहेनन्। पक्राउ पर्नेमा प्रहरी हाकिमका आफन्तसमेत रहेका छन्।
पक्राउ पर्नेमा सरोज अधिकारी, श्याम बाबु तामाङ, टेकबहादुर (टीबी) कार्की, सञ्जय मुडभरी, नवराज तामाङ, चित्र तामाङ, विष्णु लाल लामा, कुमार खड्का रहेका छन्। यसैगरी अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, प्रताप दानी, लोक बहादुर बोहरा, केशव राज अधिकारी, भरत बोहरा, राजु जिसी, विशाल तामाङ, विकास खत्री, लोक बहादुर तामाङ, निर बहादुर वाइबा, राम बहादुर लामा र लोक बहादुर श्रेष्ठ रहेका छन्।