एजेन्सी : दक्षिण कोरियामा रोबोटले एक जनाको ‘हत्या’ गरेको छ । परीक्षणका क्रममा रोबोटले मानिसको हत्या गरेको हो ।
खुर्सानीको डब्बालाई उठाएर ‘प्यालेट’मा राख्नका लागि उक्त रोबोट परिचालन गरिएको थियो । तर, रोबोटले मानिस र डब्बाबिच अन्तर छुट्याउन नसक्दा एक कर्मचारीलाई नै खुर्सानीको डब्बाझैँ समातेर ‘कन्वेयर बेल्ट’ मा धकेलिदिएको थियो । जसका कारण ती व्यक्तिको अनुहार र छाती च्यापिएको थियो ।
गम्भीर घाइते अवस्थामा अस्पतालमा लगिएका ती व्यक्तिको मृत्यु भएको बताइएको छ । ती व्यक्ति ८ नोभेम्बरमा दक्षिण ग्योङसाङ प्रान्तमा रोबोटको सेन्सर सञ्चालनसम्बन्धी जाँच गरिरहेका थिए ।