काठमाडौँ : इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ। गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए।
मारिएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज सल्यानको शारदा–३ का प्रेम भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै राजन फुलाराका शव आइपुगेको छ। उनीहरूको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सुर्खेतबाट भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव हेलिकप्टरमार्फत नै डोटी लगेर आफन्तलाई बुझाईनेछ।
यसअघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दिपेशराज विष्ट, धनुषा सापही– ६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनिया–३ का आशीष चौधरीको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको थियो।