काठमाडौं । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) को दक्षिणपूर्वी एशिया निर्देशकमा बंगालादेशको प्रधानमन्त्रीकी छोरी समेत रहेकी सैमा वाजिद निर्वाचित भएकी छिन्।
नयाँ दिल्लीमा भएको क्षेत्रीय सभा अन्तर्गत आज सम्पन्न निर्वाचनमा म्यानमार बाहेक १० देशका प्रतिनिधि सहभागी भएका थिए। वाजिदले १० मध्ये ८ भोट पाएकी छिन् भने उनका प्रतिस्पर्धी नेपालका डा. शम्भूप्रसाद आचार्यले २ मतमात्र पाएका छन्।
नयाँ निर्देशकमा मनोनित वाजिद विश्व स्वास्थ्य संगठनमा मानसिक रोग विज्ञको रुपमा कार्यरत छिन्। उनको मनोनयनलाई आउँदो जनवरीमा हुने विश्व स्वास्थ्य संगठनको महासभाले अनुमोदन गर्नेछ।
नेपालबाट विश्व स्वास्थ्य संगठनको उच्च भूमिकामा पुगेका आचार्यलाई क्षेत्रीय निर्देशक बनाउन सरकारले यसअघि देखि नै पहल गरेपनि सदस्य राष्ट्रहरुको साथ नपाउँदा सफल हुन नसकेको हो।
नवनिर्वाचित वाजिद बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजिदको छोरी पनि भएकाले उनलाई सदस्य राष्ट्रका राजनीतिक नेतृत्वको साथ रहेको अनुमान गरिएको छ।