काठमाडौं: राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एकजना फेरि पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापा रहेका छन्। थापामाथि भरतपुर–१ का सोमराज सुवेदी र उनका छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ। भरतपुरमा मेडिकल सञ्चालन गर्दै आएका सुवेदीलाई थापाले फोन गरी २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीले बताएको छ।
पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
अभियुक्त थापालाई चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएको थियो। तर, गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी उनी भरतपुर कारागारबाट छुटेका थिए।