काठमाडौं : पत्रकार किशोर नेपालले हिजो सामाजिक सञ्जालमा स्वर्गीय राजा वीरेन्द्र शाहको बिहेका बारेका एउटा पोष्ट सेयर गरे। उनले बिन्दुकान्त घिमिरेको फेसबुकवालबाट सभार गरेको उल्लेख गर्दै, ‘अहिलेसम्मको रेकर्ड अनुसार विश्वकै सबैभन्दा महंगो र खर्चिलो विवाह नेपालका तत्कालिन राजा महेन्द्र शाहका छोरा वीरेन्द्र शाहको हो। आज भन्दा ५४ वर्ष अघि भएको सो विवाहमा २ अर्ब रुपैँया खर्च गरिएको थियो’ भनेर आफ्नो एक्स अर्थात् ट्विटरमा लेखेका छन्।
पत्रकार नेपाल लगायत केहीले सामाजिक सञ्जालमा दाबी गरेको राजा वीरेन्द्र बिहे खर्च कपोलकल्पित भएको पाइएको छ। उनीहरुले राजसंस्थाप्रति जनमानसमा बढ्दै गइरहेको लोकप्रियता कम गराउँदै वितृष्णा फैलाउन खोजीरहेको आरोप लागेको पनि छ। त्यस्ता भ्रमपूर्ण सूचना फैलाउन तत्पर रहेको भन्दै उनीहरुको अहिले ब्यापक आलोचना भइरहेको छ।
त्यसै सूचनाको तथ्यजाँच गर्दै वरिष्ठ अर्थ पत्रकार गजेन्द्र बुढाथोकीले उनीहरुको सूचनालाई हावादारी भनेका छन्। उनका अनुसार आर्थिक वर्ष २०२५/२६ मा देशको कुल अर्थतन्त्रको आकार नै ८ अर्ब ९३ करोड रुपैयाँ थियो। आर्थिक वर्ष २०२५/२६ मा देशको वार्षिक बजेटको आकार ६६ करोड ७४ लाख रुपैयाँ थियो भने राजदरबारसहित संवैधानिक अंगहरूको कुल बजेट जम्मा १ करोड १४ लाख ६६ हजार विनियोजित थियो। आर्थिक वर्ष २०२६/२७ मा पनि संवैधानिक निकायको कुल विनियोजित बजेट १ करोड ३१ लाख १५ हजार रुपैयाँमात्र पुगेको थियो।
पत्रकार बुढाथोकी लेख्छन्, ‘स्मरणीय के छ भने त्यसबेला राजदरबारको सबै खर्च सरकारकै कोषबाट विनियोजित हुन्थ्यो। न्यूयोक टाइम्सका हवाला दिँदै लेखिएअनुसार दरबारले आफूसँग भएको सञ्चितिबाट युवराजधिराज वीरेन्द्रको विवाहमा १६ मिलियन डलर (अमेरिकी डलरको विनिमय दर १०.१० पैसा थियो ) अर्थात् १६ करोड रुपैयाँ खर्च गरेको भए बेग्लै कुरा, नत्र सरकारी कोषबाट खर्च भएको उपलब्ध तथ्यांकले पुष्टि गर्न सकेन।’
यस्तै उक्त भ्रामक सूचनाको विरोध गर्दै पी चन्दले पनि पत्रकार किशोर नेपाललाई सुनियोजित दुष्प्रचार गरेको आरोप लगाएका छन्। ‘विस २०२८ सालको कूल वार्षिक बजेट लगभग ८२ करोडको ५८ प्रतिशत विकास खर्च विनियोजन गरिएको थियो भने ४२ प्रतिशत साधारण खर्च। वरिष्ठ पत्रकार महोदय, सत्य तथ्य सूचना सम्प्रेषण गर्ने की ?’ उनले प्रश्न गरेका छन्।
सुजन पण्डितले पनि पत्रकार किशोर नेपाललाई प्रश्न गर्दै लेखेका छन्, ‘५४ वर्ष पहिले राजाकै छोरा भएपनि २ अर्ब रुपैँया कसरी खर्च हुन्छ होला पत्रकारजी ? जसले जे लेदिदियो त्यही सारीदिने ?’