काठमाडौँ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मिँयाखोरस्थित सडकमा बीआर ०६ बीके ५३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय महलाजिम अंसारीको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बयलबासस्थित सिद्धि बिनायक अस्पतालमा उपचार भइरहेको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुद्धसिङ घाटस्थित सडकमा बा४ ख ५७९३ नम्बरको बसले बा प्र ०३-००४ प ९२१५ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया साबित्र अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका१५ रातोमाटेस्थित सडकमा ना१ क ६०५५ नम्बरको क्रेन अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा क्रेनका सहचालक पर्सा वीरगंज महानगरपालिका-३० बिश्रामपुर बस्ने १८ वर्षीय बिपिन महत्तोको मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ चम्कोटस्थित केआई सिंह राजमार्गमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय राजु देउबाको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।