काठमाडौं: त्रिकोणात्मा टी–२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३।५ ओभरमा चार विकेट गुमाउँदै भेट्टाएको हो । नेपाललाई जित दिलाउन ओपन आशिफ शेखले सर्वाधिक ४२ रन बनाए ।
त्यस्तै रोहित पौडेल २५ र गुल्शन झा १४ रनमा अविजित रहे । हङकङका लागि इशान खानले तीन तथा यासिम मुर्तजाले नेपालको एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङ १९।२ ओभरमा अलआउट हुँदै ९४ रन समेटिएको थियो । हङकङको पारी ध्वस्त पार्न नेपालका करण केसीले चार, अभिनाश बोहरा र सोमपाल कामीले दुई दुई तथा कुशल मल्ल र मौसम ढकालले एक एक विकेट लिए ।
हङकङका दुई खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सफल रहे । यासिम मुर्तजाले ३६ तथा जिशन अलिले १७ रन जोड्नु बाहेका अन्य खेलाडी सस्तैमा आउट भए । नेपालले बुधबार भएको पहिलो खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो ।